१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मतदान स्थलमा सीमित व्यक्तिलाई मात्र प्रवेश

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थलमा प्रवेशसम्बन्धी कडा व्यवस्था गरेको छ। आयोगले मतदान केन्द्रको सुरक्षा, गोपनीयता र व्यवस्थापनलाई ध्यानमा राख्दै निश्चित व्यक्तिलाई मात्र प्रवेशको अनुमति दिने जनाएको छ।

आयोगका अनुसार मतदान केन्द्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि र मतदान प्रतिनिधि जान पाउनेछन्। त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचनमा भाग लिने दलका निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले प्रवेश पाउने छन्।

त्यसैगरी मतदान स्थलमा जानको लागी आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति प्राप्त व्यक्ति, मतदाताको साथमा रहेको बढीमा पाँच वर्ष उमेरको बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताको सहयोगका लागि साथमा आएको घरको परिवारको एक सदस्य जान पाउने आयोगले जनाएको छ।

मतदान अधिकृतले कुनै दल वा उम्मेदवारको तर्फबाट मतदान केन्द्रमा एक पटकमा एक जना मात्र प्रतिनिधिलाई प्रवेशको व्यवस्था मिलाउनुपर्ने र मतदान कार्यका लागि अत्यावश्यक ठहरिएपछि मात्र अन्य व्यक्तिलाई अनुमति दिन सकिने आयोगले जनाएको छ।

साथै मतदान केन्द्रभित्र प्रवेश गर्ने व्यक्तिले सलाई, लाइटर, एसिडजस्ता प्रज्वलनशील पदार्थ, फोटो खिच्ने क्यामरा, मोबाइल फोन लगायत मतदान अधिकृतले निषेध गरेका अन्य कुनै सामग्री लैजान नपाइने व्यवस्था गरिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App