१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
बजार

मध्यपूर्व तनावयता ११ हजार २०० ले बढ्यो सुन

मध्यपूर्वमा चर्किएको युद्ध र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मारिएपछि विश्व बजारसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ। 

अमेरिका र इजरायल-इरान तनावका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्यमा उछाल आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एकै दिन प्रतितोला ५६ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ।

शनिबार इरानमाथि इजरायल र अमेरिकाले भीषण आक्रमण गरेपछि सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा सोमबारसम्म आइपुग्दा सुनको मूल्यमा कुल ११ हजार २०० रुपैयाँको भारी वृद्धि भएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला छ हजार २० रुपैयाँ पुगेको छ। आइतबार यो पाँच हजार ९८५ रुपैयाँ थियो। शुक्रबार चाँदी पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारदेखि यता चाँदीमा मात्रै २८० रुपैयाँको वृद्धि देखिएको छ।

इरानका सर्वोच्च नेता अली खामेनीको मृत्युपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। इजरायल र अमेरिकाले तेहरानमा हमला जारी राखेका छन्। इरानले पनि इजरायल र अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाएर खाडी क्षेत्रमा प्रतिरोधी हमला जारी राखेको छ। युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नु र सेयर बजारमा समेत गिरावट आएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App