२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

ओली भन्छन्- हामी फेरि सरकारमा आएपछि भान्सामै ग्यास पुर्‍याउँर्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः सरकारको नेतृत्वमा आएपछि स्वदेशी ग्यास उत्पादन र प्रयोगको सपना पूरा गर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले दैलेखमा ग्यास उत्खनन्को कामलाई पूर्णता दिने प्रतिबद्धता जनाएका हुन्।

विकासका लागि सपना देख्नुपर्ने र त्यसलाई साकार पार्न कार्यान्वयनको योजना हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो विगतको कार्यकाल स्मरण गरे।

‘मैले पहिलोपटक सरकारको नेतृत्व गर्दा देशमा नाकाबन्दीले खाना पकाउने ग्यास लगायत दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव थियो,’ ओलीले भने, ‘त्यसबेला मैले नेपालीको मनोबल कमजोर नहोस् भनेर हामी आफैं ग्यास उत्खनन् गर्छौं र पाइपबाट नै भान्सामा ग्यास आउने बनाउँछौं भनेको थिएँ।’

अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन र उत्खनन्को कामले गति लिएको दाबी गरे। उनले सरकारमा रहँदा नै १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको र नमूना परीक्षण समेत सफल भएको उल्लेख गरेका छन्।

‘गत मंसिरमै व्यावसायिक उत्पादनको योजनासहित काम अघि बढाएका थियौँ, तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन,’ ओलीले भनेका छन्।

अध्यक्ष ओलीले रोकिएको उक्त कामलाई आगामी दिनमा आफूहरू सरकारमा आएपछि प्राथमिकताका साथ अघि बढाउने र आफ्नै देशको उत्पादन प्रयोग गर्ने सपना पूरा गर्ने जिकिर गरेका छन्।

प्रकाशित: २२ माघ २०८२ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App