धनुषा निर्वाचन क्षेत्र ४ मा मतदातालाई पैसा बाँड्ने एक जना पक्राउ परेका छन्। मंगलबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरमा मतदातालाई पैसा बाँडेको आरोपमा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार स्थानीय राजकिशोर महरालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई करिब राति १२ बजेको समयमा ४८ हजार ५ सय रुपैयाँ नगद र हिसाबकिताब गरिएको डायरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी गणेशबहादुर बमले जानकारी दिए।
पैसा बाँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले महरालाई नियन्त्रणमा लिएको हो। उनलाई थप कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइने डीएसपी बमले बताए।
नेकपा एमालेका उपमहासचिव समेत रहेका धनुषा ४ का उम्मेदवार रघुबिर महासेठ रहेका छन्। पक्राउ परेका महरा महासेठका चुनावी कार्यक्रममा जाने गरेको र उनकै लागि मत मागिरहेको स्थानीयले बताएका छन्।
प्रकाशित: २० फाल्गुन २०८२ ०८:४४ बुधबार





