२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओली सरकार राजा महेन्द्रभन्दा प्रतिगामी: भीम रावल

फाइल।

नेकपा एमालेका पूर्वनेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार राजा महेन्द्रको शासनभन्दा पनि प्रतिगामी भएको आरोप लगाएका छन्।

भूमिसम्बन्धी ऐनमा गर्न लागिएको संशोधनले जमिनदार र सार्वजनिक जग्गा हडप्नेहरूलाई फाइदा पुर्‍याउने भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।

शनिबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले २०२१ सालमा राजा महेन्द्रले लागू गरेको भूमिसुधार ऐनको प्रगतिशील प्रावधानलाई समेत वर्तमान सरकारले उल्टाउन खोजेको दाबी गरे।

‘राजा महेन्द्र, जसलाई कम्युनिस्टहरूले सामन्ती भने, उनले २०२१ सालमा भूमिसुधार लागू गर्दा उद्योगको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न दिने तर उद्योग नचलेमा त्यो जग्गा स्वतः सरकारको हुने कानुन बनाएका थिए,’ रावलले भने, ‘अहिलेको सरकारले त्यही प्रावधान हटाएर उद्योग नचले पनि व्यक्तिले जग्गा राख्न पाउने व्यवस्था गर्न खोज्दैछ। यो त राजा महेन्द्रभन्दा पनि प्रतिगामी कदम भयो।’

उनले यो संशोधनको पछाडि गिरिबन्दु टी-स्टेट, नुवाकोट दरबार र बालुवाटारको जग्गा प्रकरणजस्तै सार्वजनिक जग्गा हडप्ने ठूलो दुराशय लुकेको हुनसक्ने आशंका व्यक्त गरे। ‘यो संशोधनले जमिनदारहरूलाई हजारौं बिघा जग्गा कब्जा गर्न बाटो खोल्छ। यसमा पक्कै पनि राम्रो आशय छैन,’ उनले भने।

नेता रावलले २०३२ सालमा कारागारमा रहँदा केपी शर्मा ओलीसँगका दिनहरू सम्झँदै उनको वर्तमान राजनीतिक चरित्रप्रति आश्चर्य प्रकट गरे। ‘त्यतिबेला जेलमा केपी ओलीजी र राधाकृष्ण मैनालीजीहरूले हामीलाई ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे, आउँदैन है जनवाद भाषण ठोकेर’ भन्ने क्रान्तिकारी गीत गाएर सिकाउनुहुन्थ्यो,’ रावलले विगत सम्झँदै भने, ‘आज तिनै साथीहरूले राजा महेन्द्रले बनाएको प्रगतिशील कानुनलाई समेत उल्टाएर सामन्त र जमिनदारलाई पोस्ने काम गर्दै हुनुहुन्छ।’

उनले वर्तमान राजनीतिक दलहरू सिद्धान्त र दर्शनबाट पूर्ण रूपमा विचलित भएको आरोप लगाए। ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा; नेपाली कांग्रेस जिन्दावाद, भोट केमा हँसिया हथौडामा,’ उनले गठबन्धन संस्कृतिको खिल्ली उडाउँदै भने, ‘यस्तो सिद्धान्तहीन राजनीतिले देशको सार्वभौमिकता र अखण्डता कसरी जोगाउँछ ?’

उनले यही राजनीतिक विचलनविरुद्ध आफूले ‘मातृभूमि जागरण अभियान’ सुरु गरेको समेत बताए।

प्रकाशित: १७ श्रावण २०८२ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App