१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज (सोमबार) सुनुवाइ हुने भएको छ। 

शनिबार बिहान पक्राउ परेका दुवै जनाको तत्काल रिहाइको माग गर्दै आइतबार सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमा सोमबार पेसी तोकिएको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका छन्। 

आइतबार काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको हो। लेखक हिरासतमा रहे पनि ओली भने हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। ओली सुनुवाइमा प्रत्यक्ष उपस्थित हुन नसकेकाले उनलाई भिडियोमार्फत सहभागी गराइएको थियो। 

आदेशमा एमाले अध्यक्ष ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न भनिएको छ। सरकारी पक्षले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो।

रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। कुनै पनि जाँचबुझ वा छानबिन निकायको सिफारिसकै आधारमा व्यक्तिलाई सिधै पक्राउ गर्नु कानुनसम्मत नहुने रिटमा जिकिर गरिएको छ। 

घटना जाँचबुझ आयोगले आन्दोलनमा भएको दमनमा उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। यसबिच एमालेले ओली र लेखकको रिहाइको माग राखेर शनिबारदेखि नै निरन्तर प्रदर्शन गर्दै आएको छ। 

प्रकाशित: १६ चैत्र २०८२ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App