३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

पुराना दलहरू ‘टेस्टेड’ भइसके, अब मुलुकको नेतृत्व हामी गर्छाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समकालीन नेपाली राजनीतिमा स्थापित पुराना दलहरू असफल भइसकेको टिप्पणी गर्दै अब नयाँ भिजनसहितको शक्तिले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका छन्।

पार्टीद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेन-जी आन्दोलनको उपज भएको र यसले स्पष्ट भिजन बोकेको बताएका हुन्।

अध्यक्ष घिसिङले अन्य सबै राजनीतिक दलहरू पटक-पटक सत्तामा पुगेर ‘टेस्टेड’ भइसकेको उल्लेख गर्दै नेपाली जनताले अब नयाँ विकल्प रोज्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘पुराना दलहरूले ७५ वर्षमा राजनीतिक परिवर्तन त ल्याए, तर आर्थिक रूपान्तरण गर्न सकेनन्। त्यसैले जनताले अब नयाँ र भिजन भएको पार्टीलाई साथ दिनेछन्।’

सम्बोधनका क्रममा उनले आगामी १५-१६ महिनापछि हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टी देशकै नम्बर एक पार्टी बन्ने उद्घोष समेत गरे।

‘हामी अहिले समयको पावन्दीले गर्दा सबै ठाउँमा पुग्न सकेका छैनौं, तर हरेक ठाउँबाट जनताले उज्यालो नेपाल पार्टीकै माग गरिरहेका छन्,’ उनले दाबी गरे।

देशको पछिल्लो राजनीतिक अवस्था र आर्थिक मन्दीबारे बोल्दै घिसिङले बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव र विभेदका कारण जनतामा व्यापक आक्रोश र निराशा छाएको बताए।

यही निराशा र आक्रोशले नै जेन-जी आन्दोलनको जन्म गराएको र त्यसैको जगमा उज्यालो नेपाल पार्टी उभिएको उनको तर्क थियो।

अध्यक्ष घिसिङले थपे, ‘हाम्रो पार्टी केवल चुनाव लड्न मात्र आएको होइन, यो देशमा आर्थिक क्रान्ति, रोजगारी सिर्जना र सुशासन कायम गर्न जन्मिएको हो।’

उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी मुलुकको समृद्धिको यात्रामा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरे।

प्रकाशित: २ फाल्गुन २०८२ १७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App