२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

माधव नेपालले भने- नेपालको राजनीतिमा ‘नेपाली कम्युनिष्ट पार्टी’ चम्किलो तारा हो

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको बताएका छन्।

बिहीबार बाँकेको नेपालगञ्जमा आयोजित जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा नेता नेपालले पार्टीको नामकरण र एकताबारे प्रष्ट पार्दै भने, ‘हिजोसम्म हामी भन्दै थियौँ– नेकपा एमाले, कहिले माओवादी, कहिले समाजवादी। अब हामीले यसको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखेका छौँ। यो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको छ।’

पछिल्लो समय पुराना दल र नेताहरू काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेता नेपालले त्यसको प्रतिवाद गरे।

‘केही मान्छेले प्रचार गरिरहेका छन् कि पुरानो पार्टी काम लाग्दैन, पुराना नेता काम लाग्दैनन्। तर, सुन पनि आगोमा खारिनुपर्छ, नेता पनि संघर्षको भट्टीमा खारिनुपर्छ,’ उनले भने।

त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने उनको जिकिर थियो।

नेता नेपालले जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको बताए।

उनले भने, ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो। जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ।’ उनले २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गराए।

नेता नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। ‘अब नयाँ नेपालको सपना बोकेर अगाडि बढ्नुपर्छ। फागुन २१ गते हुने चुनावमा हामी सहभागी हुन्छौँ र सफलता प्राप्त गर्नेछौँ,’ उनले उद्घोष गरे।

प्रकाशित: २५ मंसिर २०८२ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App