नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा बढ्दो जनअसन्तुष्टिको आगो निभाउने जिम्मेवारी र तागत कांग्रेससँग मात्र भएको बताएका छन्।
उनले जनताको आक्रोशमाथि अरूले मट्टितेल र पेट्रोल खन्याएर राजनीतिक लाभ लिइरहेको भन्दै कांग्रेसले आफ्ना कमजोरीहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।
पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘जता गए पनि रिस, आक्रोस र असन्तुष्टि देखिन्छ। त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याउने, पेट्रोल हाल्ने काम एकथरिले गरिरहेका छन्।’ उनले असन्तुष्टिको आगो बाल्नेहरूलाई मात्र दोष दिएर कांग्रेस उम्किन नमिल्ने बताए।
‘त्यो आगो किन बलिरहेको छ भन्ने कुरा कांग्रेसले बुझ्नुपर्छ र त्यसलाई निभाउनुपर्छ,’ थापाले भने, ‘यो हाम्रो जिम्मेवारी हो। हामीले त्यो तागत राख्छौं।’
उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारमा रहेकाले काम र परिणामबाट जनताको विश्वास जित्नुपर्ने बताए।
पार्टीभित्र शुद्धीकरण र जागरणको आवश्यकता औंल्याउँदै उनले भने, ‘जुन कुरा हाम्रो कारणले भइरहेको छ, त्यो हामीले सच्याउनुपर्छ। हाम्रा कमजोरीहरू पनि हामीले सच्याउनुपर्छ।’
थापाले पार्टीका शुभेच्छुक संस्थाहरूलाई पार्टीभित्र र बाहिर दुवैतिरको ऐनाको रूपमा काम गर्न आग्रह गरे।
प्रकाशित: २ भाद्र २०८२ १६:४३ सोमबार




-600x400.jpg)
