नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्र पारेका छन् । माओवादीको साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरणको प्रकृया अघि बढाउने निर्णय गरेपछि श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
आइतबार नेकपा एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका थिए । मूलतः वैचारिक र नीतिगत छलफल भयो । मुलुकको लोकतान्त्रिक व्यवस्था, मुलुकको कम्युनिष्ट आन्दोलन, पार्टी एकीकरण तथा देशभक्तहरूको बिचमा सहकार्य हुनुपर्ने विषयमा छलफल भयो, पार्टी एकीकरणको सवालमा सकारात्मक छलफल भएको छ’,वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
डल्लुस्थित निवासमा पुगेका श्रेष्ठले समसायमीक राजनीतिक कुराकानी गरेका थिए । श्रेष्ठले साउन २१ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटेका थिए । छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन , लोकतान्त्रिक परिवर्तनको रक्षा लोकतान्त्रिक देशभक्तहरूको सहकार्यलगायतको विषयमा छलफल भएको श्रेष्ठको भनाई छ ।
‘हालै समाजवादी मोर्चा नेपालको बैठक बसी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने एवं सातै प्रदेशमा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय सही रहेको निष्कर्ष निकालियो। बैठकले विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने, त्यसका लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय पनि सर्वसम्मत रूपले गरेको छ।
साथै समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरूलगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य अघि बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरिएको छ,’ स्थायी समितिद्वारा जारी परिपत्रमा उल्लेख छ । यसकै कार्यान्वयनका लागि श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्र पारेको स्रोतको दाबी छ ।
प्रकाशित: २५ श्रावण २०८२ १७:५८ आइतबार





