२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विश्व शक्ति केन्द्रहरूको आँखा मुस्ताङमा छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा बहुमूल्य खनिज पदार्थ युरेनियमको सम्भावना रहेकाले विश्वका शक्ति केन्द्रहरूको नजर परेको बताएका छन्।

बुधबार मुस्ताङमा पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुस्ताङको भू-राजनीतिक र प्राकृतिक महत्त्वबारे चर्चा गरेका हुन्।

दाहालले मुस्ताङ भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा मात्र नभई खनिज पदार्थको प्रचुर सम्भावनाले पनि विशेष रहेको बताए।

उनले भने, ‘यहाँ बहुमूल्य खनिज युरेनियम छ भन्ने विश्वास गरिएको छ। त्यो कारणले पनि देशभरिका वैज्ञानिक र विश्वभरिका शक्ति केन्द्रहरूको आँखा मुस्ताङ जिल्लामा निकै गहिरो गरी परिराखेको हुन्छ।’

उनले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाएको समेत स्मरण गरे।

कार्यक्रममा बोल्दै दाहालले विगतमा मुस्ताङबाट निर्वाचित हुने जनप्रतिनिधिहरू प्रायः तल्लो भेग (थकाली समुदाय) बाट मात्र हुने गरेको भन्दै यसपटक माथिल्लो भेगलाई न्याय गरिएको बताए।

उनले भने, ‘अहिलेसम्म प्रायः तल्लो भेगबाट मात्र निर्वाचित हुने परम्परा थियो। यसपटक हामीले त्यो परम्परा तोड्दै माथिल्लो भेगका जनताको प्रतिनिधिमा ङुटुक गुरुङलाई अघि सारेका छौँ।’

उनले थकाली समुदायसँग भने, ‘यसपटक सबैले माथिल्लो भेगको प्रतिनिधिलाई भोट दिनुपर्छ।’ उनले उम्मेदवार गुरुङले जितेको खण्डमा मुस्ताङको विकासको जिम्मा केन्द्रबाट आफूले लिने प्रतिबद्धतासमेत जनाए।

दाहालले कोरला नाका सञ्चालन र त्यहाँको भौतिक पूर्वाधार निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए। आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग कोरला नाकाको नेपालतर्फको पूर्वाधार निर्माणबारे समझदारी भएको उनले दाबी गरे।

सम्बोधनका क्रममा दाहालले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे। ‘अहिले पनि कतिपय मानिसमा चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रम देखिन्छ,’ उनले भने, ‘यो सामान्य अवस्थाको नियमित निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको निर्वाचन हो। त्यसैले फागुन २१ गते निर्वाचन हुन्छ र हुनैपर्छ।’

उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा निकाय र प्रशासनलाई निर्देशनसमेत दिए।

प्रकाशित: २१ माघ २०८२ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App