२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न: कुवेतमा विषाक्त मदिरा प्रकरणपछि नेपालीमाथि धरपकड सुरु भएको हो?

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी माग गरेका छन्। 

बैठकको आकस्मिक समयमा सांसदले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी माग गरेका हुन्। 

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेको बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन्। 

यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचार पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन्।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारीका लागि आग्रह गरेका छन्। त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उनले संसदको ध्यानाकर्षण गरे।

अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित गरेको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए। रासस

प्रकाशित: ४ भाद्र २०८२ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App