रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको भन्दै नगरप्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष तत्काल समस्या समाधानको माग गरेकी छन्।
नगरपालिकाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै मेयर साहले प्रधानमन्त्रीलाई ‘सार्वजनिक अपिल’ पठाएकी हुन्। संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिकाका नियमित कामकाज प्रभावित भएको उनको दाबी छ।
उनका अनुसार विगतमा ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आएको नगरपालिकाको गत आर्थिक वर्षको बजेट खर्च संघीय सरकारको हस्तक्षेपका कारण ५०.६८ प्रतिशतमा सीमित भएको छ।
प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको नगरप्रमुख रहँदा कर्मचारीको तलब समयमै नपाए कडा कदम चाल्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै साहले पत्रमार्फत व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन्।
उनले कर्मचारीको तलब २ देखि ८ महिनासम्म, जनप्रतिनिधिको सुविधा ४ महिना र वडा सञ्चालन खर्च ८ महिनादेखि रोकिएको बताएकी छन्।
साहका अनुसार असार १२ गतेदेखि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएका थिए। त्यसपछि मन्त्रालय पुग्दा समेत सम्बन्धित सचिव तथा मन्त्रीसँग भेट हुन नसकेको उनको भनाइ छ। साउन ४ गते नयाँ अधिकृत हाजिर भए पनि भदौ ५ गतेदेखि कार्यालयलाई जानकारी नदिई अनुपस्थित भएपछि उनी निजामती सेवाबाट अवकाशमा गएको र नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको साहले उल्लेख गरेकी छन्।
हाकिम नहुँदा यी काम प्रभावित
मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकामा देखिएका समस्यालाई पाँच बुँदामा उल्लेख गरेकी छन्।
-कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिले महिनौँदेखि तलब तथा सुविधा पाउन सकेका छैनन्।
-वडा नं. ९ स्थित सोनारनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको भुक्तानी रोकिँदा निर्माण कार्य अलपत्र परेको छ।
-निःशुल्क बिजुली–पानी कार्यक्रमको महसुल भुक्तानी हुन नसक्दा ५ हजारभन्दा बढी विपन्न उपभोक्ताको विद्युत् लाइन काटिन थालेको छ।
-‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत ३ सयभन्दा बढी विपन्न छोरीको विवाह अनुदान रोकिएको छ।
-पेट्रोल पम्प, चिया पसल तथा इन्टरनेट सेवाको भुक्तानी रोकिँदा दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ।
चाडपर्व नजिकिँदै गर्दा फोहोरमैला व्यवस्थापनसमेत प्रभावित भएको र नगर क्षेत्र दुर्गन्धित बन्न थालेको मेयर साहको दाबी छ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा उत्पन्न हुने समस्या प्रधानमन्त्री शाहले पनि विगतमा अनुभव गरिसकेको उल्लेख गर्दै साहले मौलापुर नगरपालिकालाई थप अस्तव्यस्त हुन नदिन अविलम्ब प्रमुख प्रशासकीय अधिकृत पठाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेकी छन्।
प्रकाशित: ३० भाद्र २०८३ १४:३५ मंगलबार





