३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

तीज मनाउन माइती हिँडेकी महिलाको खोलामा बगेर मृत्यु

तीज मनाउन माइतीघर जाने क्रममा गुल्मीको स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया कल्पना पुनको शव आज फेला परेको छ।

मुसिकोट नगरपालिका-५ निवासी पुनलाई गत आइतबार साँझ खोला तर्ने क्रममा भेलले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटनास्थलबाट करिब एक किलोमिटर तल ठूला पहिरास्थित खोलाको बीच भागमा अड्किएको अवस्थामा उनको शव भेटिएको हो।

पुन आइतबार साँझ मुसिकोटस्थित घरबाट इश्मा गाउँपालिका-४ हुलास्थित माइतीघरतर्फ गइरहेकी थिइन्। खोला तर्ने क्रममा उनलाई निस्ती खोलाको तीव्र बहावले बगाएको थियो।

घटनालगत्तै स्थानीयले खबर गरेपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईको संयुक्त टोली खोज तथा उद्धारमा जुटेको थियो।

आइतबार रातिको खोजीका क्रममा खोला किनारमा उनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो। लगातारको खोजतलासपछि आज दिउँसो उनको शव फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए।

प्रकाशित: २९ भाद्र २०८३ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App