पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथि आरसिसी आर्क डिजाइनको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरअन्तर्गत भेरी नदीका वारिपारि रहेका बस्तीहरूलाई जोड्ने उद्देश्यले यो पुलको निर्माण थालिएको थियो।
भेरी नदी किनारका भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई मिलाएर नेपालको ठुलो आधुनिक सहर निर्माणको चरणमा छ। यहीँ आधुनिक सहरलाई मूर्तरूप दिनका लागि रामघाट र दशरथपुर जोड्नका लागि आरसिसी आर्क डिजाइनमा पुल निर्माण गरिएको हो। ‘पुलले दुई किनारका रामघाट र दशरथपुरलाई मात्रै जोड्ने होइन,’ लेकवेशीका नगर प्रमुख उमेशकुमार पौडेलले भने, ‘पश्चिम नेपालकै ठुलो कृषि अनुसन्धान केन्द्रलाई पनि सहज हुन्छ।’ आधुनिक सहर अन्तर्गत रामघाटभन्दा चार किलोमिटर माथि जहरे र शिवनगर जोड्ने पुल अघिल्लो वर्ष सञ्चालनमा आएको थियो। त्यो भन्दामाथि मेहलकुना र भेडाबारीमा एक–एक पुल सञ्चालनमा छन्।
रामघाटदेखि दुई किलोमिटरमाथि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम बन्दैछ । त्यहाँ ड्याममाथि अर्को पुल बन्दैछ। मेयर पौडेलका अनुसार नेपालगञ्ज जानका लागि जहरे पुगेर छिन्चु पुग्नुपर्ने बाध्यता अब पुलले हटाउनेछ। ‘हामी अब जहरे पुग्ने बेला छिन्चु पुगिसक्छौं’, उनले भने, ‘अब नेपालगञ्ज जानका लागि भेरीपारिका नागरिकका लागि सहज भएको छ।’
हाल निर्माण भएको पुलको ठेक्का स्वीकृति २०७९ माघ २२ गते भएको थियो। ‘डिजाइन एन्ड बिल्ड’ अनुसार यसको ठेक्का लगाइएको थियो। निर्माण कम्पनी अनक कन्स्ट्रक्सन प्रालिले ३२ करोड ६३ लाख १५ हजार पाँच सय रुपैयाँमा यसको ठेक्का पाएको थियो। आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले तोकिएको समय अगावै यसको निर्माण सम्पन्न गरेको हो।
सडक डिभिजन कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतका अनुसार रंगरोगन, फिनिसिङ र पुलको दुवै छेउतर्फ कालोपत्रे बाँकी रहेको बताए। ‘अहिले पनि इमरजेन्सीमा पब्लिक गाडीहरू आउजाउ गरिरहेका छन्’, उनले भने, ‘रंगरोगन, कालोपत्रेलगायतको काम आगामी महिनाभित्र सम्पन्न हुन्छ।’ दुई स्पान रहेको यो पुलको लम्बाई १५४ मिटर लामो छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २०७३ माघ १० गते यो पुलको शिलान्यास गरेका थिए। दुई पालिका जोड्ने पुल २०७६ माघभित्रमा सम्पन्न गर्ने भनिएको थियो। सडक विभाग अन्तर्गतको पुल महाशाखाले गरेको डिजाइन नमिल्दा पुल निर्माण हुन सकेन। डिजाइन रिभ्युका लागि महाशाखाले तीन वर्ष लगायो। म्याद गुज्रेपछि आएको नयाँ डिजाइनमा निर्माण कम्पनीले काम गर्न मानेन।
त्यसपछि पहिलेको सम्झौता रद्द गरेर पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु गरियो। नयाँ पुलका लागि ‘डिजाइन एन्ड बिल्ड’ अन्तर्गत ठेक्का लगाइयो। यस्तो ठेक्कामा छनोट भएको निर्माण कम्पनी आफैंले पुलको डिजाइन गर्छ अनि महाशाखाले स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुन्छ। पहिले महाशाखाले तयार पारेको डिजाइन अनुसार भेरी नदीको दायाँतर्फको किनारामा चट्टानमाथि पिल्लर उठाउनुपर्ने थियो। काम गर्दै जाँदा चट्टान नभेटिएपछि डिजाइन रिभ्यु गर्न समय लाग्यो। डिजाइन रिभ्यु सकेपछि निर्माण कम्पनीले पनि काम गर्न इच्छा देखाएनन्। पहिले डिजाइन गरेर ठेक्का दिँदा फेरि पनि यस्तै समस्या आउन सक्ने भएकाले दोस्रो पटक डिजाइन एन्ड बिल्डका आधारमा ठेक्का खोलिएको थियो।
सांसद खड्काद्वारा अनुगमन
भेरी नदीमाथि निर्माण सम्पन्न हुन लागेको पुलको सोमबार प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले अनुगमन गरेका छन्। सो क्रममा खड्काले पुलको दुवैतर्फ सडक फराकिलो गर्दा नागरिकका घर जोखिममा नपर्ने गरेर वाल लगाउन सडक डिभिजन कार्यालय सुर्खेतलाई आग्रह गरे। ‘पुल नजिकै रहेका घरहरू जोखिममा नपर्ने गरेर अहिलेदेखि नै वाल लगाउने काम सुरु गर्नुहोस्’, उनले भने, ‘नागरिक त्रासमा रहेर बस्ने वातावरण नहोस्।’
उनले पुल सञ्चालनमा आएसँगै भेरी वारिपारिका दुई सहर जोडिने मात्रै नभएर कृषि उपजदेखि नागरिकको दैनिक जीवन सहज हुने बताए। उनले भेरी वारिपारिका बस्तीहरूलाई जोडेर भेरीगंगा नमुनाको आधुनिक सहर निर्माणको चरणमा रहेको बताउँदै यो पुलले उक्त सहरको कल्पनालाई पनि साकार पार्ने बताए।
प्रकाशित: ३० भाद्र २०८३ १०:१७ मंगलबार

