शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् ।
मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गरेका मन्त्री पोखरेलले शिक्षा सुधारका लागि विद्यार्थीका सुझाव र गुनासो महत्वपूर्ण रहेको बताए । उनले प्राप्त सुझावलाई समेटेर विद्यमान पाठ्यक्रममा आवश्यक परिवर्तन गर्दै नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
काठमाडौंमा बन्द कोठाभित्र बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा पुगेर वास्तविक समस्या र आवश्यकता बुझ्नुपर्ने बताए ।
‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उनले भने, ‘उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।’
भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो । यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता र सुधारका विषयमा प्रत्यक्ष छलफल गरी सुझाव संकलन गरिएको थियो ।
मन्त्री पोखरेलका अनुसार भ्रमणका क्रममा काठमाडौंमा बसेर सहजै जानकारी प्राप्त गर्न नसकिने शिक्षा क्षेत्रका स्थानीय समस्या र व्यावहारिक चुनौतीबारे प्रत्यक्ष बुझ्ने अवसर मिलेको छ । कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव तथा सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन निर्माण र नयाँ राष्ट्रिय पाठ्यक्रम तयार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ ।
उनले मधेसमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताए । कृषि शिक्षाको विस्तार र कृषि कलेज स्थापना पनि मधेसका महत्वपूर्ण आवश्यकता भएको उनले उल्लेख गरे ।
प्रकाशित: २९ भाद्र २०८३ १४:३८ सोमबार





