३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

बाढीपछि डीएनए परीक्षणमा ढिलाइ, पीडितलाई थप पीडा नदिन ओलीको आग्रह

प्रतिनिधिसभा सदस्य खुश्वु ओलीले रसुवामा भदौ १० गते आएको बाढीपछि आफन्तको शव पहिचान र बुझ्न परिवारले कष्ट व्यहोर्नुपरेको भन्दै प्रक्रिया सहज बनाउन सरकारसँग माग गरेकी छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया लामो हुँदा पीडित परिवार थप पीडामा परेको बताइन्। 

उनका अनुसार केही परिवारले डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमुना दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट प्राप्त गर्न सकेका छैनन्। सरकार पक्षबाट भने सबै शवको डीएनए परीक्षणको रिपोर्ट एकैपटक तयार गरी नमुना मिलान भएपछि मात्रै परिवारलाई शव बुझाउने जानकारी दिइएको उनले बताइन्। 

‘उहाँहरूले डीएनएको लागि रगत दिएको पनि १५ दिन नाघिसकेको छ, रिपोर्ट आएको छैन। डीएनएको मुख्य हाकिमसँग कुरा गर्दा समय लाग्छ, हामी सबैको एकैपटक रिपोर्ट निकाल्छौँ र जसको म्याच हुन्छ, उहाँहरूलाई सबै दिन्छौँ भन्ने कुरा आएको छ,’ ओलीले भनिन्। 

डीएनए परीक्षणको प्रतिवेदन तयार गरी अन्तर्राष्ट्रियस्तरमा समेत जवाफ दिनुपर्ने भएकाले तीन–चार महिनासम्म समय लाग्न सक्ने जानकारी आफूले पाएको उनले बताइन्।  

ओलीले यस्तो अवस्थाबाट एक जना मात्रै नभई धेरै परिवार गुज्रिरहेको भन्दै पीडित परिवारलाई लामो समयसम्म पर्खाइमा राख्न नहुने बताइन्। 

‘उहाँ एक जना होइन, यो अवस्थाबाट गुज्रिरहेका धेरै परिवार हुनुहुन्छ। अब उहाँजस्तो पीडामा भएको मान्छेले कसरी यत्रो समय कुर्न सक्नुहुन्छ ? राज्यको संवेदनशीलता यहाँ आवश्यक छ,’ उनले भनिन्। 

उनले कतिपय शवको अनुहार स्पष्ट देखिने, शरीरका अन्य भागसहित पहिचान खुल्ने तथा मृतकले लगाएका विद्यालयको पोसाकलगायत सामग्रीबाट समेत पहिचान गर्न सकिने अवस्था रहेको बताइन्। 

यस्तो अवस्थामा स्पष्ट पहिचान खुलेका शवका परिवारलाई तत्काल जिम्मा दिनुपर्ने वा डीएनए परीक्षण अनिवार्य भए त्यस्ता शवको छुट्टै प्राथमिकताका साथ परीक्षण गरी छिटो रिपोर्ट उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ। 

‘कम्तीमा स्पष्ट पहिचान खुलेका शवहरू परिवारलाई जिम्मा दिनुपर्‍यो। होइन, डीएनए नै चाहिने हो भने उहाँहरूजस्ताको छुट्टै चाँडै डीएनएको रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्‍यो,’ ओलीले भनिन्। 

प्रकाशित: ३० भाद्र २०८३ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App