३० भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

त्रिशूली थ्री ‘बी’ मा पुरिएकाहरूको खोजीमा सेनाको अन्तिम प्रयास, पावरहाउसको भग्नावशेष खोस्रिँदै

भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका १८६ जना कर्मचारी तथा कामदारको खोजी अब एउटै अन्तिम बिन्दुमा पुगेर केन्द्रित भएको छ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका प्रशासनिक तथा आवासीय भवनहरू बाढीले नामेट पारेपछि संयुक्त सुरक्षा फौजले ५ वटा पिल्लर मात्र ठडिएको निर्माणाधीन पावरहाउसको भग्नावशेष खोस्रिएर खोजी तीव्र बनाएको हो।

आयोजना प्रमुख आनन्द ढुङ्गेलका अनुसार बाढीपछि आयोजना र परामर्शदाता कम्पनीका ४४ जना तथा निर्माणमा संलग्न कम्पनीका ४ जना चिनियाँ नागरिकसहित १४२ जना कामदार गरी कुल १८६ जना सम्पर्कविहीन छन्।

पाँचवटा आवासीय भवन पुरिएको नभई बाढीले बगाएर बगर बनाइसकेको र सुरुङमार्गमा कोही नभेटिएकाले अब कामदार फसेको हुन सक्ने सम्भावित स्थानका रूपमा निर्माणाधीन विद्युत् उत्पादन गृह मात्र बाँकी रहेको छ।

दलदले लेदो र बगरमा परिणत भएको सो खण्डमा हाल भारी उपकरण प्रयोग गरी उत्खनन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्ला सुरक्षा समितिको टोलीले मंगलबार स्थलगत अवलोकन गरी उद्धारको अवस्थाबारे जानकारी लिएको छ।

अहिले घटनास्थलमा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको विशेष टोली परिचालित छ।

यसअघि चीन, अस्ट्रेलिया, क्यानडा र दुबईका विदेशी उद्धार विज्ञहरूसमेत खटिएको यस क्षेत्रमा हाल नेपाली विज्ञ र सुरक्षा फौजले खोजीलाई निरन्तरता दिइरहेका छन्।

श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले कार्यक्षेत्र अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण बनेको बताए। भग्नावशेष पन्छाउने काम निरन्तर भइरहे पनि हालसम्म थप कसैको अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ।

यता, माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रमा भने खोजीकार्य अन्तिम चरणमा पुगेको छ। बाढी आएको १०औं दिनमा थ्री ‘ए’ बाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको थियो।

त्यसपछि सुरुङ र मुख्य संरचनामा थप कोही फेला नपरे पनि भग्नावशेष हटाउने काम जारी राखिएको प्रशासनले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८३ २०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App