एसीसी पुरुष प्रिमियर कपको फाइनलमा मैदानभित्र भएको विवाद र अनुशासन उल्लंघनका कारण नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) का तीन खेलाडी कारबाहीमा परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका ब्याटर रोहित पौडेल तथा यूएईका अदीब उसमानी र खुजाइमा तनवीरलाई आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरेको हो।
नेपालको इनिङ्सको ३१औँ ओभरमा रोहित र उसमानीबीच मैदानमै विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन अम्पायरले दिएको निर्देशन पालना नगरेको भन्दै दुवै खेलाडीलाई आईसीसीले लेभल–१ अन्तर्गत खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ।
त्यस्तै, यूएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि ब्याटले स्टम्पमा प्रहार गरेका तनवीरमाथि खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ।
कारबाहीसँगै तीनै खेलाडीको अनुशासन अभिलेखमा एक–एक डिमेरिट अंक थपिएको छ। यद्यपि पछिल्लो २४ महिनामा उनीहरूको यो पहिलो आचारसंहिता उल्लंघन भएकाले थप निलम्बनको सजाय भने तोकिएको छैन।
आईसीसीका अनुसार तीनै खेलाडीले आफूहरूमाथि लागेको आरोप स्वीकार गर्नुका साथै प्रस्तावित सजायसमेत मानेका थिए। त्यसैले घटनाबारे छुट्टै औपचारिक सुनुवाइ गर्न आवश्यक नपरेको आईसीसीले जनाएको छ।
यसरी उपाधिका लागि भएको रोमाञ्चक प्रतिस्पर्धाबीच मैदानमा देखिएको अनुशासनहीन गतिविधिको मूल्य नेपाल र यूएईका तीन खेलाडीले जरिवाना तथा डिमेरिट अंकका रूपमा चुकाएका छन्।
प्रकाशित: ३० भाद्र २०८३ २०:१० मंगलबार





