विभागीय टोली एपिएफ फुटबल काठमाडौंलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मलेसियाको एन पेनाङ एफसी तेस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलमा सुरुवाती अग्रता भने एपिएफले लिएको थियो। एपिएफका लागि बुद्धिमान राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एपिएफकै हरि कार्कीको आत्मघाती गोलबाट खेल बराबरीमा फर्किएपछि पेनाङले खेलमा पूर्ण पकड जमायो।
त्यसपछि एकपक्षीय दबाब बनाएको पेनाङका लागि प्रताप राई र फागुराम थारुले दुई-दुई गोल थपे। उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका पेनाङका प्रताप राई ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
अब फाइनल प्रवेशका लागि पेनाङले सेमिफाइनलमा ‘एप्पल गुरु सूर्यपुर एफसी’ को सामना गर्नेछ। सूर्यपुरले यसअघि ललितपुरको सातदोबाटो युथ क्लबलाई स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ।
यसैबीच, प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो ४ बजे सुरु हुनेछ। कुल आठ टोली सहभागी प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
प्रकाशित: ३० भाद्र २०८३ २०:२६ मंगलबार





