१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

महेश बस्नेत भन्छन् : राहत, उद्धार र पुनःस्थापनामा सरकार असफल भयो

नेकपा (एमाले) का महासचिव महेश बस्नेतले रसुवामा आएको बाढीपछि प्रभावित नागरिकले समयमा राहत नपाएको भन्दै सरकार विपद् व्यवस्थापनमा असफल भएको बताएका छन्। 

बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत बाढी प्रभावितलाई ‘एकद्वार प्रणाली’ मार्फत राहत, उद्धार र पुनःस्थापना गर्न सरकार असफल भएको बताएका हुन्। 

उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए। 

‘महाविपत्तिको बेला राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारकै हुनुपर्छ। तर सरकार प्राप्त नगद र अन्य स्रोत साधन केन्द्रीकृत गरेर कब्जा गरेर बसेको छ, पीडितहरू राहत र उद्धारका लागि हारगुहार गरिरहेका छन्,’ बस्नेतले लेखेका छन्। 

उनले सरकारले विदेशी सहयोग लिन नचाहेको, प्रदेश तथा स्थानीय सरकारलाई दोष दिने गरेको र राहत तथा सहयोग लिएर जाने स्वयंसेवक तथा दातालाई प्रभावितसम्म पुग्न नदिएको समेत बताएका छन्। 

साथै सत्तारूढ दलले सर्वदलीय बैठक बोलाए पनि बैठकमा सहभागी दलका सुझावलाई सरकारले प्रभावकारी रूपमा कार्यान्वयन नगरेको उनको भनाइ छ। 

‘सत्तारूढ दलले सर्वदलीय बैठक बोलाउँछ। दलहरू जान्छन्, सुझाव दिन्छन्। तर सत्तारूढ दल र सरकारबीच समन्वय त परै जाओस्, छलफलसमेत हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रकाशित: १६ भाद्र २०८३ १७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App