१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

महेश बस्नेतले गरे सचिव पदमा उम्मेदवारी घोषणा

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको ११औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै बस्नेतले आफ्नो विगतको भूमिका र कार्यसम्पादनको मूल्यांकन गर्न आग्रह गर्दै सचिव पदका लागि मत मागेका हुन्।

भिडियोमा बस्नेतले देशमा जातीय र धार्मिक द्वन्द्व मच्चाउन खोज्ने शक्तिहरू विरुद्ध एमाले र आफूले सधैं सशक्त भूमिका खेलेको दाबी गरेका छन्।

उनले भने, ‘कतिपय शक्तिहरूले देशलाई खेलमैदान बनाउन खोजेका छन्। कहिले जातका नाममा जातीय युद्ध गराउने षड्यन्त्र गर्छन् त कहिले सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्छन्।’

बस्नेतले ‘एक मधेश एक प्रदेश’ भन्दै पहाड र मधेशबीच द्वन्द्व सिर्जना गर्न खोजिएको र पहिचानका नाममा कोशी प्रदेशलाई टुक्र्याउने योजना बनाइएको भन्दै त्यसको प्रतिवाद गरेको उल्लेख गरे।

उनले धार्मिक युद्ध मच्चाउन खोज्ने समूहहरू विरुद्ध पनि एमालेले खबरदारी गरेको बताए।

आफ्नो राजनीतिक पृष्ठभूमिको चर्चा गर्दै बस्नेतले माओवादी द्वन्द्वकालमा एमाले कार्यकर्ता र समाजको रक्षाका लागि आफूले ‘युथ फोर्स’ को नेतृत्व गरेको स्मरण गरे।

‘सिङ्गो समाजमा सामाजिक न्याय मरेको बेला, दिनदहाडै अपहरण र लुटपाट हुने परिवेशमा ३ सय भन्दा बढी कार्यकर्ता गुमाउँदा पनि हामीले नेपाली समाजको मनोबल बढाउन भूमिका खेल्यौं,’ उनले भने।

युवासंघको अध्यक्ष, इन्चार्ज, सांसद तथा मन्त्री हुँदा आफूले नीति निर्माणदेखि पार्टीको अभियान सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरेको उनको दाबी छ।

आफूले प्राप्त गरेको हरेक जिम्मेवारीमा न्याय गरेको जिकिर गर्दै बस्नेतले भने, ‘विगतमा गरेको कामको सही मूल्यांकन गरेर मलाई सचिव पदमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु।’

प्रकाशित: २९ मंसिर २०८२ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App