१ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

चार दशकको अड्को फुक्यो : लहान अस्पताल अब सय शैय्यामा विस्तार हुने

रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको भौतिक विकासको अड्को बनेको जग्गा रजिस्ट्रेसनका लाग्ने लाभकर  सरकारले छुट दिने निर्णय गरेको छ। यससँगै चार दशकदेखि अस्पतालको हकभोगमा रहेको जग्गाको अडको फुकेको हो।

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अस्पतालको हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाभकरबापत लाग्ने एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो। सरकारको निर्णयपछि पूर्वपश्चिम राजमार्गमा अवस्थित यस अस्पतालको भौतिक पूर्वाधार निर्माण र गुणस्तरीय सेवा विस्तारको बाटो खुलेको अस्पतालका अध्यक्ष रामनारायण महतोले बताए। यो अस्पताल सिराहा, सप्तरी र उदयपुरका बिरामीहरूको सहज पहुँचको केन्द्र हो।  

सामाजिक अभियन्ता रामप्रकाश सिंहले निरन्तरको संघर्षको फल प्राप्तिपछि यस भेगका जनताले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा जागेको बताए। जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकर छुट दिने निर्णयमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सकारात्मक पहलकदमी र भूमिका महत्त्वपूर्ण रहेको उनले बताए।

दशकौँदेखि अड्किएको जग्गा रजिस्ट्रेसनका लागि संघीय सरकारले लाभकर छुटको निर्णय वर्तमान सरकारले गरिदिएर यस भेगका जनताले अपेक्षा गरेको भरपर्दो स्वास्थ्य सेवाका लागि बाटो सहज बनाइदिएपछि स्थानीयमा खुसीको सञ्चार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए। ‘स्थानीय जनताको अपेक्षा र आवश्यकताअनुसार सरकारले गरेको निर्णय सिरहा मात्र नभई स्वास्थ्य सेवा आवश्यक सबैका लागि ठूलो गुण हो, उनले भने। 

मन्त्रिपरिषद् बैठकले जग्गाधनी पवनकुमार शारडा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको लहान नगरपालिका– ७ (क) स्थित कित्ता नं. २४८, २४९, ३२७ र ३३० को गरी एक बिघा १५ कठ्ठा १० धुर जग्गा तथा त्यसमा बनेको भवनसमेतको कायम हुने १७ करोड ९९ लाख ४६ हजार एक सय आठ रुपैयाँ १० पैसा जग्गाधनीहरूले मधेस प्रदेश सरकारको नाममा हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ को दफा ९५ क. को उपदफा (५) को खण्ड (ख) बमोजिम लाग्ने लाभकर आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम छुट दिने निर्णय गरेको हो। 

तस्बिर : सरकारले लाभकर छुट दिन गरेको निर्णय।

लाभकरका कारण जग्गा रजिस्ट्रेसन हुन नसक्दा चार दशकदेखि यो अस्पतालको सेवा विस्तार रोकिएको थियो। १५ शय्याबाट सुरु भएको अस्पताल प्रदेश सरकारमातहत गएपछि थपेर ५० शय्यामा सञ्चालन हुँदै आएको छ। अस्पतालको स्वामित्वमा जग्गा आएपछि अब सेवा विस्तारको बाटो खुलेको छ।

हाडजोर्नी, बालरोग, जनरल सर्जरी, जनरल मेडिसिनको सेवा दिँदै आएको अस्पतालको आफ्नै जग्गा भएपछि एक सय शय्या क्षमताको भवन निर्माणसहित सिटिस्क्यान, एमआरआई र विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने अध्यक्ष महतोले सुनाए। ‘जग्गा आफ्नो स्वामित्वमा ल्याउन संघीय सरकार, लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र जेनजी अगुवाहरूले मालपोतसँग समन्वयलाई सक्रिय बनाएका थिए।

वि.सं. २०३७ मा लहानका व्यावसायिक घरानाका रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा १० धुर जग्गा दान दिएका थिए। दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका अस्पतालको नाममा जग्गा रजिस्ट्रेसन गर्न तयार भए पनि लाग्ने लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल थियो। 

फोटो : लहान अस्पताल सरकारले लाभकर छुट दिने गरेको निर्णय।

प्रकाशित: १ पुस २०८२ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App