कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा पूर्व एसएसपी बिक्रम सिंह थापालाई हटाइको भन्दै उनका समर्थकहरूले कांग्रेस कपिलवस्तुको पार्टी कार्यालय भित्र तोडफोड गरी तालाबन्दी समेत गरेका छन् ।
पार्टीका प्रदेश सभापति अमर सिंह पुनले थापालाई गत साउन १५ गते पदमुक्त गरे पनि भदौ १५ गते मात्र पत्र सार्वजनिक भएको थियो । थापाका समर्थक तथा कांग्रेस नेता परमेश्वर पाठकको नेतृत्वमा पार्टी कार्यालयमा सभापति पुन विरुद्ध नाराबाजी गर्दै तालाबन्दी समेत गरिएको हो । बिरोधका क्रममा पार्टी कार्यालयको हलमा रहेका एक दर्जन प्लाष्टिकका कुर्ची समेत तोडफोड गरिएको छ ।
तालाबन्दी पछि पार्टी जिल्ला सचिव प्रेम बहादुर रायमाझीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । विरोधका क्रममा उनीहरुले पार्टी कार्यालय अघि र्याली निकालेर नाराबाजी समेत गरेका थिए । २ बर्ष अघि पुनले थापालाई प्रदेश सदस्यमा नियुक्त गरेका थिए । थापा कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर २ ख बाट प्रदेश सदस्यमा समेत उम्मेदवार बनेका थिए । पार्टीका प्रदेश महामन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले प्रदेश सभापतिले थापालाई मनोनीत गरेकोमा अहिले पदमुक्त गरेको बताए । उनले प्रदेश सभापतिले गरेको निर्णयको विरोध प्रदेश समितिमा गर्नु पर्नेमा पार्टी जिल्लाको जिल्ला कार्यालयका गर्नु उचित नहुने बताए ।
पार्टी जिल्ला सभापति अब्दुल कलामले तालाबन्दी र तोडफोडका बिषयका लागि बुधवार पार्टीको जिल्ला कार्य समितिको बैठकले आवश्यक निर्णय अघि अघि बढ्ने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति कार्यालयले सार्वजनिक गरेको पत्रमा नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित)को परिच्छेद ७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम विक्रमसिंह थापालाई जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।
प्रकाशित: १७ भाद्र २०८२ १७:५९ मंगलबार





