नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १५ औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत र निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेता निधिले मुलुकको बिग्रँदो राजनीतिक अवस्था र संविधानमाथिको चुनौती सामना गर्न कांग्रेसमा एकताबद्ध र सर्वसम्मत नेतृत्वको खाँचो रहेको औँल्याएका हुन्।
‘मेरो चाहना र प्रयास भनेको नेपाली कांग्रेसको सभापति सकेसम्म सर्वसम्मत र निर्विरोध होस् भन्ने नै हो,’ निधिले भने, ‘अहिलेको राष्ट्रिय परिस्थिति र पार्टीभित्रको अवस्था हेर्दा हामीले सर्वसम्मत नेतृत्व दिन सक्यौँ भने त्यसले देशलाई राम्रो सन्देश दिन्छ।’
उनले सर्वसम्मतिको प्रयास सफल नभए मात्र लोकतान्त्रिक प्रतिस्पर्धामा जानुपर्ने बताए। ‘यदि सर्वसम्मत हुन सकेन भने प्रतिस्पर्धाका लागि पनि हामी तयार हुनुपर्छ। तर त्यो प्रतिस्पर्धा स्वस्थ र लोकतान्त्रिक हुनुपर्छ,’ उनले थपे।
सर्वसम्मतिकै प्रयास स्वरूप आफूसहित पूर्व पदाधिकारीहरू (प्रकाशमान सिंह, शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत लगायत) बिच घनीभूत छलफल भइरहेको उनले खुलाए।
‘हामी ७ जना साथीहरू सल्लाह गर्दैछौँ। १५ औँ महाधिवेशनमा हाम्रो तर्फबाट एक जना मात्र उम्मेदवार दिने र अरूलाई सहयोग गर्ने गरी समझदारी बनाउने प्रयासमा छौँ,’ निधिले भने, ‘हामी बिचको एकताले पार्टीलाई सर्वसम्मत नेतृत्व चयनमा मद्दत पुग्ने विश्वास छ।’
प्रकाशित: २४ मंसिर २०८२ १९:५४ बुधबार





