सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चारिका समूह नेपालले सोमबार काठमाडौमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरुको दोहोरो जिम्मेवारी रहेको बताए ।
मन्त्री खरेलले भने,‘म पत्रकार महिला साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाँइहरुको दोहोरो जिम्मेवारी छ, ‘पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ । त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरु र एडभोकेसीहरु कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो ।’
सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको बताए ।
उनले भने, ‘तपाँई परिवारमाझ हुनुहुन्छ, आफु सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाँइको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाँईलाई असुरक्षित महशुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ ।’
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसावले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरुमा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै भने, ‘संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वहरुसँग अन्तरंग कुराकानी भयो । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘थाहा छ जगदीशजी तपाँइहरु पुरुष, हामी महिला । तपाँइहरुले एउटा सिन्को भाच्दा, हामीले तीनवटा सिन्का भाच्नुपर्छ, हामी त्यति दुःख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरुले आफ्नो करियरको लागि जीन्दगीमा गरेको संघर्षको प्रतिक हो ।’
प्रकाशित: २४ मंसिर २०८२ १४:५३ बुधबार





