राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीबारे अहिल्यै मूल्याङ्कन गरिहाल्ने बेला नभएको बताएका छन्।
आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले गृहमन्त्रीको काम भर्खरै सुरु भएकाले नतिजाका लागि केही समय पर्खिनुपर्ने बताएका हुन्।
पार्टीभित्र र बाहिर गृहमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको सम्बन्धमा सोधिएको जिज्ञासामा उनले भने, ‘अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन, भर्खरै त काम सुरु भएको छ।’
उनले रास्वपा एक लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रश्न, जिज्ञासा र आलोचना हुनुलाई सामान्य र नियमित अभ्यासका रूपमा लिनुपर्ने बताए।
गृहमन्त्री गुरुङले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भौतिक पूर्वाधार मन्त्रालय मातहतका सडक ठेकेदारहरूलाई निर्देशन दिएको विषयमा सभापति लामिछानेले आफूलाई सबै प्राविधिक कुरा थाहा नभएको बताए।
उनले भने, ‘केही कम्युनिकेसन भएको हुनसक्छ, मलाई सबै कुरा विस्तृतमा थाहा छैन। तथ्य नबुझी म यसै हो भन्न सक्दिनँ।’
यस्तै, मन्त्रीहरूलाई नयाँ आइफोन उपहार दिइएको भन्ने चर्चाका विषयमा उनले खण्डन गरे। सभापति लामिछानेले गलत समाचारको पछि नलाग्न र त्यस्ता विषयमा प्रतिक्रिया नखोज्न आग्रह गरे।
सचिवालय बैठकले तय गरेका एजेन्डाहरू सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने जनाइएको छ। आइतबार बसेको सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
यसका साथै, प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने पनि निर्णय भएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १८:५६ आइतबार





