कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरूमा झण्डै १० करोड केजी रासायनिक मल मौज्दात रहे पनि वितरण हुन नसकेको पाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कम्पनीका जिल्ला शाखा कार्यालयहरूमा ९ करोड ८२ लाख ३५ हजार ४५० केजी रासायनिक मल मौज्दात रहेको छ। केन्द्रबाट मल पठाइए पनि शाखा कार्यालयबाट समयमै वितरण हुन नसक्दा किसानले आवश्यक समयमा मल प्राप्त गर्न नसकेको देखिएको छ।
कम्पनीको तथ्यांकअनुसार कोशी प्रदेशका शाखा कार्यालयहरूमा १ करोड १९ लाख ५४ हजार ५०० केजी युरिया, २० लाख ९२ हजार ६०० केजी डीएपी र ३२ लाख ४८ हजार ८५० केजी पोटास मौज्दात छ। तर ती मलसमेत पूर्ण रूपमा वितरण हुन सकेको छैन।
मधेश प्रदेशका शाखा कार्यालयहरूमा ३ करोड ११ लाख ३१ हजार २०० केजी युरिया, १ करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मौज्दात रहेको छ।
त्यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी युरिया, ५ लाख ९९ हजार १५० केजी डीएपी र २ लाख ५१ हजार ७५० केजी पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनीको तथ्यांकले देखाएको छ।
गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा ४ लाख ६ हजार ६५० केजी युरिया, १ लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ। यहाँबाट पनि मल वितरण अपेक्षाअनुसार हुन सकेको छैन।
यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयहरूमा १ करोड ५० लाख ३५ हजार ८५० केजी युरिया, ४६ लाख ४३ हजार ९०० केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात रहेको छ।
कर्णाली प्रदेशका शाखा कार्यालयहरूमा २ लाख १२ हजार २५० केजी युरिया, ७४ हजार ६५० केजी डीएपी र ४८ हजार ९५० केजी पोटास मौज्दात रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशस्थित शाखा कार्यालयहरूमा २४ लाख ५४ हजार १०० केजी युरिया, २ लाख ९३ हजार २५० केजी डीएपी र ४ लाख २३ हजार २०० केजी पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
किसानहरूलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले केन्द्रबाट पर्याप्त परिमाणमा मल पठाइए पनि जिल्ला तहबाट प्रभावकारी वितरण हुन नसक्दा मल गोदाममै थन्किएको देखिएको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १७:५५ बिहीबार





