राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीको विपद्मा सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राहत र उद्धारमा पार्टीको झन्डा नभई देशको झन्डा बोकेर राज्य संयन्त्रसँग समन्वय गरी खटिन आग्रह गरे।
भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति लामिछानेले विपद्को यस घडीमा सिंगो संसद् र प्रतिपक्षी बेन्चले देखाएको ऐक्यबद्धता उच्च राजनीतिक संस्कार भएको बताए।
राजनीतिक दलहरूसँग विपद् व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा दलहरूमा रहेका राहत तथा उद्धारमा तालिमप्राप्त साथीहरूलाई दलीय झन्डा नबोकी, देशको झन्डा लिएर स्थानीय प्रशासनसँगको समन्वयमा एकीकृत रूपमा परिचालन गर्न म आह्वान गर्दछु।’
नेता तथा मन्त्रीहरूको स्थलगत भ्रमणले उद्धारमा खटिएका सुरक्षाकर्मीको ध्यान मोड्न सक्ने भन्दै उनले भीआईपी मुभमेन्ट नगर्न सचेत गराए। आफू र आफ्ना सांसदहरू अत्यावश्यक अवस्थाबाहेक फिल्डमा गएर सुरक्षा निकायलाई थप भार नदिने बताउँदै उनले राज्यको सम्पूर्ण ध्यान नागरिकको ज्यान बचाउनमै केन्द्रित हुनुपर्ने बताए।
तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रमा पहिरोका कारण थुनिएको नदी अचानक खुल्दा भोटेकोशीमा भीषण बाढी आएको उल्लेख गर्दै उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
विपद्का बेला सीमान्तकृत, गरिब, महिला, बालबालिका, गर्भवती, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र दलित समुदाय सबैभन्दा बढी प्रभावित हुने भएकाले सरकारले राहत र उद्धारमा उनीहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको माग थियो।
यसैगरी, अस्पतालहरू २४ सै घण्टा तयारी अवस्थामा रहनुपर्ने, हेलिकोप्टर र सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गर्नुपर्ने बताउँदै लामिछानेले संकटको यस समयमा सामाजिक सञ्जालमा अपुष्ट समाचार र एआई निर्मित भ्रामक सामग्री सम्प्रेषण नगर्नसमेत सबैमा अपिल गरे।
प्रकाशित: १० भाद्र २०८३ १५:५१ बुधबार





