सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पहिलोपटक ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङसँग भेटेका छन्। बुधबार प्राधिकरण पुगेर हाजिर गरेका कार्यकारी निर्देशक शाक्यले बिहीबार मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेटेका हुन्।
भेटमा शाक्यले अदालतबाट आदेश पाएपछि आफू प्राधिकरणमा हाजिर भएको मन्त्री घिसिङलाई जानकारी दिएका थिए। भेटमा मन्त्री घिसिङले आफूले शाक्यसँग सल्लाह गरेरै प्राधिकरणबाट सरुवा गरेको दाबी गरेको स्रोतले बतायो।
‘तपाईँले नै सरुवा गर्दा हुन्छ भनेपछि सरुवा गरिएको हो। तर अदालत जानुभयो,’ मन्त्री घिसिङको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अदालतले पुनर्बहाली गरेपछि फेरि आउनुभएको छ। अब द्वन्द्व नबढाएर परिणाममुखी काम गर्नतिर लाग्नुहोस्।’
प्रकाशित: २५ मंसिर २०८२ १५:३१ बिहीबार





