३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘अब पनि पुरानै दललाई परीक्षण गर्ने हो भने देशको भाग्यले नी हाम्रो परीक्षण मात्र गर्छ’

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-३ की उम्मेदवार सोविता गौतमले देशमा अब पनि पुराना दल र नेताहरूलाई परीक्षण गरिरहन नहुने बताएकी छन्।

चुनावी सभालाई सम्बोधन गर्दै गौतमले विगत ३५-४० वर्षदेखि शासन गरिरहेका दलहरूले युवाको अपेक्षा पूरा गर्न नसकेको बताइन्।

‘युवाहरूले स्वदेशमै व्यापार, जागिर र रोजगारी खोजेका छन्। आफूले जानेको इलम र परिश्रम गरेर यही देशमा निधक्क र सम्मानजनक तरिकाले बाँच्न पाउनुपर्छ भन्ने मात्र युवाको माग हो।’ सम्बोधनका क्रममा गौतमले भनिन्।

तर, विगतका सरकार र पालैपालो प्रधानमन्त्री बनेका नेतृत्वले युवाको यो सामान्य चाहनाअनुसारको समाज निर्माण गर्न नसकेको उनको आरोप छ।

‘विशेषगरी तीनवटा प्रमुख दलहरूलाई जनताले लामो समयदेखि परीक्षण गरिसकेका छन्। अब पनि तिनै दललाई परीक्षण मात्र गरिरहने हो भने हाम्रो देशको भाग्यले नै हामीलाई परीक्षण गर्नेछ।’ उनले सुनाइन्।

नेपालीहरूको नियति अब परीक्षण मात्र गरिरहने नभई ठोस परिवर्तन हुनुपर्नेमा उनले जोड दिइन्।

आफू कानुन व्यवसायी भएर व्यक्तिगत रूपमा सफल जीवन बिताउन सक्ने भए पनि समाज बनाउने हुटहुटीले राजनीतिमा आएको उनले प्रस्ट पारिन्।

‘म एक्लै राम्रो भएर, मेरो कमाइ राम्रो भएर मात्र समाज बन्दैन। अरूलाई गाली गरेर वा यो भएन, त्यो भएन भनेर गुनासो मात्र गर्नुभन्दा समस्या समाधान गर्न आफैँ मूलधारको राजनीतिमा होमिएको हुँ,’ गौतमले भनिन्।

देशमा राम्रो नेतृत्वको खडेरी लागेको महसुस गरेर आफू राजनीतिमा आएको बताउँदै उनले देश र समाज अरू कसैले वा छिमेकीले आएर बनाइदिने नभई स्वयं नेपाली जनताले नै निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिन्।

प्रकाशित: १८ माघ २०८२ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App