२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गोली चलेको सुनेपछि तत्काल गृहमन्त्रीलाई फोन गरेको थिएँ: ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते बानेश्वरमा गोली चलेको सुनेलगत्तै आफूले तत्काल गृहमन्त्रीलाई फोन गरेर घटनाबारे जानकारी लिएको बताएका छन्।

उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गोली चलाइएको र विद्यार्थीको मृत्यु भएको घटनालाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको सुनाए।

आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ को घटनाक्रम सुनाउँदै भने, ‘मैले गोली चलेको सुनें। तत्काल गृहमन्त्रीजीलाई सोधें, के भएको ? मैले गोली चलेको सुनें।’

गृहमन्त्रीले रबरको गोली चलेको जवाफ दिएको तर त्यसको केहीबेरमै विद्यार्थीहरूको मृत्यु भएको खबरले आफू अत्यन्त दुःखी भएको उनले सुनाए।

ओलीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भनी गृहमन्त्रीलाई प्रश्न गरे उल्लेख गरे। ‘के भएर विद्यार्थी त्यहाँ मारिनुपर्ने परिस्थिति परिहाल्यो त ? कति प्रहरीले उनीहरूलाई ब्लक गर्‍यो ? कतिले छेक्यो ? कतिले रोक्यो ?’

अध्यक्ष ओलीले भदौ २३ को घटनालाई भोलिपल्ट (भदौ २४) हुने आगजनी, तोडफोड र लुटपाटको ‘तयारी’ का रूपमा चित्रण गरे।

उनले भने, ‘मेरो विचारमा, भदौ २४ गतेको विभत्स आगजनी, तोडफोड, लुटपाट आदिको एउटा तयारी थियो। त्यो गर्नैपर्ने कुराका लागि एउटा आवेश, उत्तेजनाको वातावरण ल्याउनुपर्ने अवस्था थियो।’

उक्त घटनालगत्तै आफूले त्यसको छानबिनका लागि सोही रात मन्त्रिपरिषद्को बैठक बोलाएर न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको पनि उनले बताए।

‘मैले २३ गते नै, गोलीकाण्डको छानबिन गर्नका मन्त्रिपरिषद्को बैठक बोलाएर राती नै न्यायाधीशको नेतृत्वमा आयोग गठनको घोषणा गरिसक्या थिएँ,‘ उनले भने, ‘छानबिन गर्नैपर्छ, यो असाधारण कुरा भयो भनेर।’

संवादका क्रममा ओलीले आफूलाई थुनामा राख्न सकिनेतर्फ डर देखाइएको तर आफू त्यसबाट नडराएको बताए।

उनले आफू ७३ वर्षको भएको र बंगलादेशमा ८५ वर्षका व्यक्तिलाई जेठो पुस्ताले नेता बनाएको उदाहरण दिँदै उमेरको बहस असान्दर्भिक भएको टिप्पणी गरे।

आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै उनले आफ्नो सम्पत्ति छानबिन गर्नसमेत चुनौती दिए।

प्रकाशित: २ कार्तिक २०८२ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App