नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ लाई मधेशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्। घरदैलोका क्रममा उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं मात्र बुझेर नपुग्ने भन्दै आफू मधेश चिन्न सर्लाही आएको बताएका हुन्।
घरदैलो अभियानमा थापाले भने, ‘मलाई काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस्, २१ गतेपछि तपाईँहरूको जिम्मा म लिन्छु।’ उनले अब सांसद खोज्दै जनता धाउनु नपर्ने र आफ्नो सम्पर्क कार्यालयमार्फत सिधै जोडिन सकिने बताए।
उनले थप भने, ‘कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नुभन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो।’
उनले कांग्रेस नेतृत्वको सरकार बनेपछि नागरिकले अस्पतालमा उपचार गर्दा पैसा तिर्नु नपर्ने दाबी पनि गरेका छन्। उनले उखु किसानको समस्या आफ्नै जिम्मा भएको बताउँदै उनले सर्लाहीमा इन्जिनियरिङ कलेज र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिए।
प्रकाशित: ९ फाल्गुन २०८२ १३:५७ शनिबार





