माघमा हुने राष्ट्रियसभा सदस्य तथा फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस हुम्लाले उम्मेदवार सिफारिस गरेको छ।
नेपाली कांग्रेस हुम्लाले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाहीसहित तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
जिल्ला सभापति मोहनविक्रम सिंहले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ शाहीसहित जयपती रोकाया र रिता शाहीको नाम सिफारिस गरिएको बताए। सभापति सिंहले केन्द्रीय कार्यालयबाट जारी परिपत्र अनुसार राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहका बहालवाला जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस नगर्न भने पनि स्थानीय कांग्रेसजनको भावना अनुसार पूर्व मुख्यमन्त्री शाहीलाई प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरिएको बताए।
‘जिल्लास्थित पार्टीका विभिन्न संरचना, महासमिति सदस्य, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, क्षेत्रीय कार्यसमिति, सातै गाउँपालिका कार्यसमिति तथा ४४ वटै वडा समितिको सामूहिक भावना र आग्रह अनुसार पूर्व मुख्यमन्त्री शाहीको नाम सिफारिस गरेका हौँ,’ सभापति सिंहले भने।
यस्तै प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कांग्रेस हुम्लाले बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ।
यसैगरी राष्ट्रियसभा सदस्य खुलातर्फ पदमबहादुर लामाको नाम एकल सिफारिस गरिएको छ भने राष्ट्रियसभा सदस्य महिलातर्फ रंगमती शाही र सबिता बुढाको नाम सिफारिस गरिएको कांग्रेस हुम्लाका सभापति सिंहले जानकारी दिए।
प्रकाशित: २९ मंसिर २०८२ १४:१४ सोमबार





