नेपाली कांग्रेस देशैभरका फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ। महिनौँ लामो चलेको केन्द्रीय समिति बैठकबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापना ‘अदालतको विषय’ भन्दै निर्वाचनमा होमिने निर्णय गरेको कांग्रेसले सोही अनुरूप तयारीलाई तीव्र पारेको छ।
यस क्रममा कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरूले प्रतिनिधिसभा निर्वाचनमा लागि धमाधम उम्मेदवारका नाम सिफारिस गरेका छन्। सोही क्रममा महामन्त्री गगन थापाको नाम सबैभन्दा धेरै ठाउँबाट सिफारिस भएको छ।
हालसम्म सार्वजनिक समाचारअनुसार महामन्त्रीको नाम ४ ठाउँबाट सिफारिस भएको छ। जसमा रोल्पा, धनकुटा, सर्लाही–४ र काठमाडौं–४ छन्।
रोल्पा कांग्रेसको जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापासहित चार जनाको नाम सिफारिस गरेको छ। थापाबाहेक कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिसमा परेको छ।
प्रदेश सभापति पुन रोल्पा कांग्रेसका सबैभन्दा ठुला नेता मानिन्छन्। उनी इतर पक्षबाट लुम्बिनी कांग्रेसको प्रदेश सभापति चुनिएका थिए। पछिल्लो समय उनी महामन्त्री थापाको पक्षमा खुलेका छन्।
कम्युनिस्ट शक्ति, त्यसमा पनि माओवादीको उद्गम स्थल मानिने रोल्पामा कांग्रेस निकै कमजोर छ। त्यहाँ केही समयअघि महामन्त्री थापा पुग्दा कांग्रेसले ठुलै भिड उतारेको थियो। अहिले उनको नाम सिफारिस गरेर कांग्रेसले ‘रणनीतिक हलचल’ मच्चाउन खोजेको टिप्पणी भइरहेको छ।
यस्तै मंगलबारै बसेको धनकुटा कांग्रेसको बैठकले पनि महामन्त्री थापाको नाम एक नम्बरमा सिफारिस गरेको छ। पहिलो नम्बरमा उनको नाम सिफारिस हुँदा दोस्रोमा जिल्ला सभापति दिनेश राईले आफ्नो नाम राखेर सिफारिस गरेका छन्। सभापति राई पनि पछिल्लो समय महामन्त्री थापाकै पक्षमा खुलेका छन्।
उनीहरूबाहेक हरिकुमार राई, मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवार तर्फ सिफारिस गरिएको छ।
यस्तै सर्लाही–४ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको छ। क्षेत्रीय कार्यसमितिले थापासँगै बहालवाला प्रदेश सभा सांसद वीरेन्द्रप्रसाद सिंहको नाम पनि प्रत्यक्षतर्फमा सिफारिस भएको छ।
२०७९ मा महामन्त्री थापाले यही क्षेत्रमा निर्वाचन लड्ने हल्ला चलेको थियो। उनले आफू पहिलेदेखि लड्दै आएको काठमाडौं–४ डा. स्वर्णिम वाग्लेलाई छाडेर आफू सर्लाही–४ जान चाहेका थिए। तर, सभापति शेरबहादुर देउवा उनले काठमाडौं–४ छाड्दा पनि त्यहाँ वाग्लेलाई लडाउन नचाहेको चर्चा हुन्छ। थापाले काठमाडौं–४ छाड्दा त्यहाँ युवा नेता नैनसिंह महरलाई सार्ने देउवाले छाँटकाँट देखाएका थिए। अन्तिम समयमा थापा काठमाडौं–४ मै रोकिए।
उक्त निर्वाचनमा कांग्रेसबाट नागेन्द्रकुमार राय उम्मेदवार बनेका थिए। तर, निर्वाचन कांग्रेसबाटै बागी लडेका अमरेशकुमार सिंहले जिते। सिंहले २० हजार १७ मतसहित जित निकाल्दा रायले १८ हजार २५३ मत पाएका थिए।
कतिपयले यस पटक महामन्त्री थापा सर्लाही–४ बाट निर्वाचन लड्ने अड्कलबाजी गरिरहेका छन्। अर्का आकांक्षी बहालवाला प्रदेश सांसद नै सिफारिसमा परेकाले त्यसो अड्कल गर्नेहरूको बुझाइमा बल पुगेको छ। उसै पनि महामन्त्री थापा त्यो क्षेत्रमा पटक–पटक गइरहने, त्यो क्षेत्रका नेता कार्यकर्तासँग सम्पर्कमै बसिरहने भएकाले पनि धेरैले उनी त्यहाँ निर्वाचन लड्न सक्ने अनुमान गरिरहेका छन्।
तर केही दिनअघि मात्रै महामन्त्री थापा सर्लाहीको मलंगवा पुगेर आफू काठमाडौं–४ बाटै चुनाव लड्ने बताएका थिए।
यता काठमाडौ–४ बाट पनि महामन्त्री थापाको नाम एकल सिफारिस भएको छ। उनी यो क्षेत्रबाट २०७०को संविधानसभा निर्वाचन यता लडिरहेका छन्। उनले तीन वटै निर्वाचन यही क्षेत्रबाट जितेका छन्। पहिलो संविधानसभामा भने उनी समानुपातिकबाट पुगेका थिए।
महामन्त्री थापाको सचिवालय भने उनी काठमाडौं–४ बाटै फेरि निर्वाचन लड्ने दाबी गर्छ। ‘जहाँ जहाँबाट उहाँको नाम सिफारिस भयो, त्यो उहाँप्रतिको आशा र सुभेच्छा हो,’ महामन्त्री थापाका स्वकीय सचिव सविनराज मुडभरी भन्छन्, ‘तर, यसपटक पनि उहाँ चुनाव चाहिँ काठमाडौं–४बाटै लड्नुहुन्छ।’ काठमाडौंका मतदाता यो कुरामा ढुक्क रहन उनले आग्रह गरे।
प्रकाशित: २४ मंसिर २०८२ १५:१२ बुधबार





