३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको निर्देशन: ट्यांकरबाट भए पनि मधेशलाई पानी खुवाउनू

गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशमा देखिएको खानेपानीको चरम संकट समाधान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उनले पानीको स्रोत नभएका स्थानमा सेना, प्रहरी, स्थानीय तह र निजी क्षेत्रका ट्यांकर प्रयोग गरेर भए पनि तत्काल पानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।

मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि शनिबार गृह मन्त्रालयमा आयोजित समन्वयात्मक बैठकमा बोल्दै मन्त्री लेखकले तत्कालको आवश्यकतालाई हेरेर काम गर्न निर्देशन दिए।

‘हावापछि अर्को आवश्यक कुरा पानी हो, पानी बिना मानिस बाँच्न सक्दैन,’ मन्त्री लेखकले भने, ‘स्रोत उपलब्ध नभएको स्थानमा ट्यांकरमा भरेर लगेर भए पनि नागरिकलाई पानी खुवाउनुपर्‍यो।’

उनले संकट समाधानका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए। ‘नगरपालिका, गाउँपालिकासँग भएका ट्यांकरहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग भएका ट्यांकरहरू र निजी क्षेत्रका ट्यांकरहरूलाई समेत समन्वय र सहजीकरण गरेर खानेपानी वितरणमा प्रयोग गर्नुहोस्,’ उनले भने।

मन्त्री लेखकले डीप बोरिङ भएका तर बिजुली नहुँदा पानी तान्न नसकिएका स्थानहरूमा तत्काल विद्युत जडान गर्न पनि निर्देशन दिए।

उनले भने, ‘सबै काम छाडेर सबैभन्दा पहिला नागरिकलाई पानी उपलब्ध गराउने कुरामा लाग्नुस्। जिल्लास्तरमा विद्युत प्राधिकरणसँग समन्वय गर्नुस्, यदि त्यहाँबाट भएन भने गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणसँग समन्वय गर्छौं।’

मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले निजी क्षेत्रका स्रोतसाधन पनि परिचालन गर्न कानुनी रूपमा सहज भएको उनले स्मरण गराए।

प्रकाशित: १० श्रावण २०८२ १९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App