रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा विपद्पछिको सम्भावित सरुवा रोग र महामारी फैलिन नदिन सरकारले विशेष स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाएको छ।
प्रधानमन्त्री बालेन शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र ज्वरोजस्ता संक्रामक रोगको प्रकोप रोकथामका लागि विपद्-पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना स्वीकृत गरी विशेष टोलीहरू कार्यक्षेत्रमा परिचालन गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य संकटकाल तथा विपद् व्यवस्थापन इकाइ र स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले प्रभावित भूगोलमा संक्रामक रोग नियन्त्रणको प्रत्यक्ष नेतृत्व गरिरहेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा रोगको प्रारम्भिक पहिचान र रोकथामका लागि निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली-सोरमास सञ्चालनमा ल्याइएको छ।
यसका साथै फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्रामबाट प्रशिक्षित जनशक्तिसहितका दुईवटा विशेष टोली तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा थप मेडिकल निगरानी अधिकारीहरू फिल्डमा खटिएका छन्।
यसैबीच, पानीका स्रोतहरू दूषित हुनबाट जोगाउन र संक्रमण फैलिन नदिन नेपाली सेनाले प्रभावित क्षेत्रहरूमा जिवाणु तथा प्रदूषण उन्मूलन अभियान तीव्र रूपमा चलाइरहेको छ।
सेनाले जोखिमयुक्त बस्तीहरूमा स्वास्थ्य सतर्कता अपनाउन स्थलगत रूपमै माइकिङ गर्दै सचेतना फैलाइरहेको छ।
शारीरिक उपचारसँगै बाढीको भयानक त्रासमा परेका नागरिकहरूलाई मानसिक आघातबाट बाहिर ल्याउन मन्त्रालयले मनोपरामर्श स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्सहरू तैनाथ गरेको छ।
बाढीमा परी घाइते भएका कुल २९२ जनामध्ये हालसम्म १८२ जना डिस्चार्ज भइसकेका छन् भने बाँकीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
प्रकाशित: १६ भाद्र २०८३ २०:०६ मंगलबार





