१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बाँकेका तीनै क्षेत्रमा ‘विरासत’ को प्रतिस्पर्धा

आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँकेका तीन वटै क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले मतदाता भेटघाटको काम बढाएका छन् । यसपटकको निर्वाचनमा दल र उम्मेदवारबीच विरासत जोगाउन र फर्काउन तथा आफूलाई स्थापित गर्नमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

चुनावी मैदानमा रहेका दल तथा उम्मेदवारबीचको प्रतिस्पर्धाले यसपटक बाँकेको तीन वटै निर्वाचन क्षेत्रको परिणाम रोचक आउने अनुमान गर्न थालिएको छ । निर्वाचनबारे गाउँ–शहरका चोक तथा चौतारा र चिया पसलमा अनेक विश्लेषण र अड्कलबाजी गर्ने गरिएको छ । यसअघि सम्पन्न भएको २०७९ को निर्वाचनमा बाँकेको ३ वटा क्षेत्रलाई तीन फरक दलले जितेपनि यसपटक कस्तो परिणाम आउँला? भन्नेमा आम जिल्लाबासीको मनमा कौतुहलता जागेको छ ।  

जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था फेरिएपनि निर्वाचन परिणाममा प्रभाव पार्ने सम्भावना कम रहेको बताइन्छ । निर्वाचनमा पुराना र उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचमै कडा प्रतिस्पर्धा हुने अनुमान छ । बाँकेको क्षेत्र नम्बर १ मा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) आफ्नो पुरानो विरासत फर्काउने दाउमा छन्, भने एमाले विरासत जोगाउने रणनीतिमा देखिन्छ । यस्तै रास्वपा यसपटक आफुलाई स्थापित गर्ने योजनामा रहेको छ । उक्त क्षेत्रमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका सुर्य ढकाल निर्वाचित भएका थिए । नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रबीच गठबन्धनका उम्मेदवार रहेका माओवादी नेता एवम तत्कालिन खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ढकालले पराजित गरेका थिए ।  

यस्तै २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धनका उम्मेदवार माओवादी नेता महेश्वरजंग गहतराज निर्वाचित भएका थिए । गहतराजले कांग्रेसका माधवराम खत्रीलाई पराजित गरेका थिए ।  

यसपटकको निर्वाचनमा एमालेले पुनः सुर्य ढकाललाई नै उम्मेदवार बनाएको छ । कांग्रेसले नारायणप्रसाद गौडेल, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, प्रगतिशिल लोकतान्त्रिक पार्टीले कृष्णा केसी ‘नमुना’ र राप्रपाले प्रदिपकुमार शाहलाई उम्मेदवार बनाएको छ ।  

कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला चुनाव लड्ने बाँके क्षेत्र नम्बर २ मा यसपटक रोचक रुपले प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा निर्वाचित भएका थिए । राणाले पुर्वमन्त्री एवम् तत्कालिन संघिय समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा भने एमालेका पशुपति दयाल मिश्रलाई पराजित गरेर राई नै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेसले राप्रपालाई सघाएको थियो ।  

यसपटकको निर्वाचनमा कांग्रेसले स्वर्गिय कोइरालाका भतिज सुधान्सु कोईरालालाई उम्मेदवार बनाएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका महामन्त्री रहेका राई यसपटक एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीले विवेककुमार श्रेष्ठ, राप्रपाले ऋषिराज देवकोटा उम्मेदवार बनाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईलाई राजिनामा गराएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । कांग्रेस यसपटक यहाँ आफ्नो पुरानो विरासत फर्काउने दाउमा छ । राप्रपाका डा. धवलसम्शेर राणा यसपटक चुनाव लडेनन् । राप्रपाले यहाँ पनि आफ्नो विरासत जोगाउने रणनीति बनाएको छ । नेकपा, रास्वपा लगायत दलहरु आफुलाईपहिलो पटक स्थापित गर्ने योजनामा देखिन्छन् ।  

बाँके क्षेत्र नम्बर ३ को पनि चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका तत्कालिन सह–महामन्त्री किशोरसिंह राठौंर यसक्षेत्रबाट निर्वाचित भएका थिए । उनले एमालेका किस्मतकुमार कक्षपतिलाई पराजित गरेका थिए । त्यसअघि २०७४ को निर्वाचनमा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका कृष्णमान श्रेष्ठलाई पराजित गरेका थिए । यसपटक राठौंर बाँके–३ छाडेर बर्दिया–२ मा चुनाव लड्ने भएपछि पार्टीले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाएको छ । यस्तै एमालेबाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट दीपक जि.एम., राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनारलाई उम्मेदवार छन् । यहाँ नेपालीकांग्रेस आफ्नो विरासत जोगाउने रणनीतिका साथ तयारीमा जुटेको छ । यस्तै एमाले आफ्नो पुरानो विरासत फर्काउने रणनीतिमा देखिन्छ, भने राष्ट्रिय स्वतन्त्र पार्टी आफुलाई स्थापित गर्न खोजिरहेको छ । 

प्रकाशित: १६ माघ २०८२ १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App