३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताएका छन्। लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताए।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसका माध्यमबाट युवाहरूका मागलाई सम्बोधन गर्न सकिने बताएका छन्। ‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन। अर्ली इलेक्सनमा जान सकिन्छ,’ महासचिव पोखरेलले भने, ‘यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो।’

महासचिव पोखरेलले केही मानिसहरूले दलहरू सिद्धिए। खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताए। ‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो। एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरू सडकमा आए,’ पोखरेलले भने, ‘जनताहरू एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ?’

महासचिव पोखरेलले केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताए। नवयुवाका नाममा भएको आन्दोलनमा ब्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्याउन खोजिएको पोखरेलले बताए। ‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोउँ,’ महासचिव पोखरेलले भने, ‘यो त नेपाललाई राज्यविहिन बनाउने,नेपाल र सारा नेपाली जनतामाथि भएको प्रहारको रूपमा बुझ्नु पर्दछ। ’

प्रकाशित: २७ कार्तिक २०८२ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App