२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशन नहुनुको दोष महामन्त्रीहरूले सभापतिलाई थोपर्न मिल्दैन: डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको महाधिवेशन समयमै हुन नसक्नुको दोष महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई थोपर्न नमिल्ने बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।

प्रवक्ता महतले महाधिवेशन गर्ने प्रस्ताव र त्यसको व्यवस्थापन समितिको संयोजकको भूमिका महामन्त्रीहरूकै रहेको स्मरण गराए।

‘विशेषगरी महामन्त्रीज्यू नै व्यवस्थापन समितिको संयोजक हो। स्टेरिङमा बसेका साथीहरूले नै अहिले आएर ‘यो गर्न नसकिने भयो, यो अरूको कारणले वा सभापतिको कारणले हो’ भन्न मिल्दैन,’ महतले भने, ‘उहाँहरूले नै ल्याएको प्रस्तावमा हामीले सहमति जनाएका हौँ। अहिले समय पुगेन भनेर सभापति वा अरूलाई दोष दिनु गलत हुन्छ।’

डा. महतले सभापति देउवाले महाधिवेशन र पार्टी सञ्चालनमा महामन्त्रीहरूलाई पूर्ण अधिकार र जिम्मेवारी दिएको दाबी गरे।

‘सभापतिजीले विधान अनुसार अधिकार दिनुभएको छ। उहाँले रोक्नुभएको छैन,’ महतले भने, ‘आफूले जिम्मेवारी लिएर काम अघि बढाउने, अनि नभएपछि सभापतिलाई मात्र दोष दिने, अर्को साथीलाई दोष दिने कामले कसैको हित गर्दैन।’

महाधिवेशनको कार्यतालिका ल्याउँदा महामन्त्रीहरू नै पर्याप्त गम्भीर नभएको महतको आशय थियो। ‘उहाँहरूले प्रस्ताव ल्याउँदा मैले त्यतिबेलै ‘रकेट स्पिड’ मा काम गरे मात्र भ्याइन्छ भनेको थिएँ,’ महतले भने, ‘तर रियालिटी फरक थियो। क्रियाशील सदस्यता नै टुंगिएको थिएन। अहिले आएर उहाँहरूले पनि यो समयमा सम्भव छैन भन्ने महसुस गर्नुभएको छ।’

प्रवक्ता महतले नेतृत्वलाई खुइल्याएर वा एकले अर्कालाई दोष दिएर पार्टी बलियो नहुने भन्दै जिम्मेवारीपूर्वक प्रस्तुत हुन महामन्त्रीहरूलाई आग्रह समेत गरे।

प्रकाशित: १६ पुस २०८२ १९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App