१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:१५ पूर्वाह्न
राजनीति

गगन भन्छन्: ‘प्रोजेक्ट गभरनेन्स’मा नेपालका सबै समस्याको समाधान छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘प्रोजेक्ट गभरनेन्स’मार्फत नेपालका सबै खाले समस्याको समाधानका उपाय खोजेर बसेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू प्रधानमन्त्री बनेको पहिलो दिनबाटै ती काम गर्ने बताएका हुन्। 

‘तैँले के गर्छस् भन्ने कुराको सन्दर्भमा म अहिले प्रोजेक्ट गभर्नेन्स भनेर केही वर्षदेखि लगातार काम गरिरहेको छु,’ महामन्त्री थापाले भने, ‘मैले प्रत्येक नेपालको प्रधानमन्त्रीसँग त्यो हुनुपर्छ भन्ने ठान्दछु, भनेपछि आफ्नो बारेमा पनि त्यो सोच्दछु।’ 

आफूले मौका पाए पहिलो दिनदेखि नै युद्ध स्तरमा काम गर्ने उनले बताए। उनले भने, ‘मैले प्रधानमन्त्री बन्ने मौका पाए प्रधानमन्त्री बनेको दिनदेखि उसको निम्ति त्यो जिम्मेवारी भनेको वार जस्तो हो। युद्ध स्तरमा उसले काम गर्न सक्नुपर्छ। उ क्लियर के हुनुपर्छ भने म यो जिम्मेवारीमा किन आएको हो।’ 

महामन्त्री थापाले आफूले गर्ने भनेका केही कामको उदाहरण पनि दिए। ‘जस्तो नेपालमा कुनै पनि इन्फास्ट्रक्चर टाइममा बन्दैन, हामी सबैलाई थाहा छ। किन बन्दैन भनेर गाली गरेर मात्र हुँदैन। नेपाली मान्छे कतारमा गएर कन्ट्रयाक्टर भएको छ, त्यही नेपाली मान्छे त्यहाँ गएर इन्जिनियर भएको छ, त्यही नेपाली कामदार भएको छ। त्यो काम चाहिँ त्यहाँ दुई महिनामा सकिन्छ,’ उनले भने, ‘त्यही काम नेपालमा गर्न परे दुई वर्ष लाग्छ।’ 

त्यसका कारण र समाधान आफूले पत्ता लगाएको उनले बताए। ‘किन? त्यसका कारणहरू छन्। समस्या छ भने त्यसको समाधान पनि छ। म नेपालको पूर्वाधार किन समयमा बन्दैन भन्ने कुराको समाधान तयार गरेर बसेको छु,’ महामन्त्री थापाले भने। 

यस्तै ‘नेपालको हाइड्रो पावर टाइममा किन बन्दैन?’ भन्ने कुराको समाधान पनि आफू बोकेर बसेको उनले बताए। यस्तै स्वास्थ्य बिमाका हकमा पनि आफूसँग पर्याप्त समाधानको उपाय रहेको उनको भनाई छ। उनले भने, ‘नेपालको स्वास्थ्य बिमा मैले नै सुरु गरेको, तर अहिले करिब करिब फेल भएर डुब्ने अवस्थामा पुगेको छ। मैले सुरु गर्दा राम्रै चल्यो, अहिले किन समस्या आयो? के गरे ठिक ढंगले जान्छ? त्यसको विस्तृतमा वर्क आउट गरेर बसेको छु।’ 

त्यसैले प्रधानमन्त्री बनिस् भने के गर्छस् ? भनेर प्रश्न उठ्दा आफूसँग नेपालका मूलभूत समस्याको समाधान खोजेर बसेको र तीनै काम गर्ने उनले बताए। उनले अगाडि भने,  ‘म डे वानबाटै यसमा काम गर्न चाहन्छु। म पूरै जनतालाई के कुरामा विश्वास दिलाउन चाहन्छु भने–तिम्रो जिम्मा लिएर गएको मान्छेले इमानदारीपूर्वकता काम गर्ने कोसिस गरिरहेको छ, रिजल्ट आउन समय लाग्छ, त्यो धैर्यता सबैले राख्नुपर्छ, केही न केही रिजल्ट दिन्छ।’ 

त्यत्ति कुराले जनतामा आशाको सिर्जन ागर्ने उनले बताए। ‘आशाको सिर्जना गरे मान्छे नेपालमा बस्छ, सँगै मिलेर काम गर्न सकिन्छ,’ महामन्त्री थापाले भने। 

प्रकाशित: २५ श्रावण २०८२ १९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App