नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको चरम गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई गुटको पछि लागेर आफ्नो राजनीतिक भविष्यको हिसाबकिताब गर्नुको सट्टा वैचारिक र बौद्धिक कर्ममा लाग्न सुझाव दिए।
सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रहको विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेविसंघ आफ्नो गौरवशाली वैचारिक इतिहासबाट विचलित भएर केवल गुटहरूको झुण्डमा परिणत भएकोप्रति चिन्ता व्यक्त गरे।
‘तीन दिनै नेविसंघ भनेर कुद्दा-कुद्दै कुनचाहिँ गुटमा हो, त्यो गुटभित्र पनि अर्को उपगुट छ, त्यहाँभित्र मिलाएर, त्यो हिसाबकिताब मिलाउँदा-मिलाउँदै अधिवेशन कहिले हुने हो, कहाँ पुग्ने हो भन्दाभन्दै म नेविसंघ किन भएको भन्ने नै मान्छेले बिर्सिन्छ,’ उनले भने।
नेविसंघको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै उनले विद्यार्थीहरूलाई आफ्नो प्राथमिकता बदल्न आग्रह गरे। ‘त्यसैले लेख्ने काम नछोड्नुस्,’ उनले भने, ‘बरु गुट छोड्नुस्, लेख्ने काम नछोड्नुस्।’
प्रकाशित: ९ भाद्र २०८२ १६:०९ सोमबार





