नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बाध्यकारी भएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेता लेखकले पार्टीको विधान र अनुशासनलाई पूर्णतः बेवास्ता गरी समानान्तर गतिविधि बढेपछि केन्द्रीय समिति कठोर निर्णय लिन बाध्य भएको बताएका हुन्।
अन्तर्वार्ताका क्रममा नेता लेखकले देश राजनीतिक अस्थिरता र सङ्कटमा रहेको बेला लोकतन्त्रको पहरेदार मानिने कांग्रेसभित्रको विद्रोह दुःखद घटना भएको बताए।
‘यो घटना नेपाली कांग्रेसका लागि मात्र नभएर समग्र लोकतन्त्र र मुलुककै लागि दुःखद हो,’ लेखकले भने, ‘म व्यक्तिगत रूपमा पनि यसबाट निकै दुःखी छु। यस्तो परिस्थिति आउन नदिन हामीले अन्तिम समयसम्म प्रयास गरेका थियौं।’
लेखकले महामन्त्रीहरूले पार्टीको आधिकारिकतालाई चुनौती दिँदै विधान विपरीतका गतिविधि गरेको आरोप लगाए। ‘उहाँहरूले पार्टीको आधिकारिक निर्वाचन समिति भंग गर्ने, आफूखुसी नयाँ कार्यतालिका ल्याउने र समानान्तर उम्मेदवारी दर्ता गर्ने जस्ता अराजक गतिविधि गर्नुभयो,’ उनले भने, ‘पार्टीलाई विधि, पद्धति र विधानको दायरामा राख्नका लागि अनुशासनको कारबाही गर्नु बाध्यता बन्यो।’
पार्टी एकता जोगाउन आफूले विगत तीन महिनादेखि ‘पुल’ को काम गरेको स्मरण गर्दै लेखकले सभापति शेरबहादुर देउवा सहमतिका लागि निकै लचिलो बनेको दाबी समेत गरे।
प्रकाशित: ३० पुस २०८२ २०:०७ बुधबार




