नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसँगको बढ्दो टकरावबीच वामपन्थी राजनीतिमा तरंग ल्याउने अभिव्यक्ति दिएका छन्।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएमा वामपन्थी एकताको शर्तमा आफूले समर्थन गर्न सक्ने संकेत गरे।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विद्या कमरेडले यदि नेकपा एमालेलाई लचिलो बनाउने, सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने र साझा मोर्चा बनाएर अघि बढ्ने प्रतिबद्धताका साथ राजनीतिमा आउनुहुन्छ भने मेरो समर्थन रहन्छ।’
आफ्नै पार्टी नेतृत्वप्रति आक्रामक देखिएका खनालले चार वर्ष बितिसक्दा पनि एमालेबाट विद्रोह गर्नुको औचित्य स्थापित गर्न नसकेकोमा गम्भीर असन्तुष्टि पोखे।
‘पार्टी किन टुक्र्याइयो भन्ने प्रश्न महत्वपूर्ण होइन, कुन कारणले टुक्र्याइयो भन्ने हो,’ उनले भने, ‘हामीले जुन कारणले विद्रोह गर्यौं, त्यो कारण र औचित्य आजसम्म पनि आम कार्यकर्तामाझ पुष्टि गर्न सकिएन। कार्यकर्ताको असन्तुष्टि यही हो।’
नेता खनालले पार्टी स्थापनाकालदेखि नै अध्यक्ष नेपालसँग विभिन्न विषयमा गम्भीर मतभेद रहेको खुलासा गरे। उनका अनुसार, एमसिसी कुनै हालतमा पास गर्न नहुने आफ्नो अडानविपरीत अध्यक्ष नेपालले पास गराएको, वर्गीय दृष्टिकोणबिना जस्तोसुकै सरकारमा सहभागी हुने नीति लिएको र कांग्रेससँगको गठबन्धनमा धोका खाएको विषयमा नेतृत्वसँग सुरुदेखि नै असहमति थियो।
‘दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारमा सहभागी हुनु भनेको आत्मसमर्पण हो,’ उनले भने, ‘चुनावमा कांग्रेससँग गठबन्धन गर्दा धोका हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो, अहिले अध्यक्ष कमरेड आफैं धोका पायौं भन्न बाध्य हुनुभएको छ।’
उनले आफू समाजवादी मोर्चाको घोषणा सभामै जान नचाहेको तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएपछि मात्र गएको समेत बताए।
पार्टी छाड्ने कुनै मनसाय नरहेको स्पष्ट पार्दै खनालले पार्टीभित्रैबाट रूपान्तरणका लागि संघर्ष गर्ने बताए। ‘म यो पार्टी छाड्ने, राजीनामा दिएर हिँड्ने कल्पना पनि गर्दिनँ,’ उनले भने, ‘जुन पार्टी विद्रोह गरेर बनाइयो, त्यसलाई वैचारिक र राजनीतिक रूपले सुदृढ गर्नु हाम्रो कर्तव्य हो। क्षमता नभएकाहरू आफैं बाटो लाग्छन्, झलनाथ खनालले त्यस्तो काम गर्दैन।’
प्रकाशित: १७ श्रावण २०८२ १७:०९ शनिबार





