नेकपा एमालेले १० औं महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, संगठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि पार्टी स्कुल विभागलाई सक्रिय गराको छ। नेता/कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श मानेको मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरूमै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएकाले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ।
महाधिवेशन सकिएको तीन महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो। ज्ञवालीका अनुसार चार वर्षको अवधिमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता/कार्यकर्तालाई प्रशिक्षित गरिएको छ। स्कुल विभागले तयार गरेको प्रतिवेदनअनुसार प्रशिक्षणमा जनसंगठनदेखि प्रवाससम्म, जनप्रतिनिधिदेखि नवप्रवेशीसम्मका नेता/कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ। प्रतिवेदनअनुसार चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ। यस्तै नवप्रवेशी २५०, जिल्ला तहका नेता/कार्यकर्ता ५ हजार ४ सय २६, वित्त तथा कोष व्यवस्थापन ५६, भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ।
‘यस बीचमा हामीले हुम्लादेखि पाँचथरसम्म, झापादेखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरू सञ्चालन गर्यौं,’ ज्ञवालीले भने, ‘हामीले ३/४ दिनका कार्यशाला, अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरूले पार्टीको आधारभूत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ।’
विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ। विभागले उत्पादन गरेका प्रशिक्षकहरू प्रदेश,जिल्ला र स्थानीय तहहरूले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन्। ‘हामीले बृहत्तर रूपमा प्रशिक्षणको काम अघि बढाएका हौं। केन्द्रले प्रशिक्षक उत्पादन गर्ने, प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरू मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी, समाज, देश र विदेशका बारेमा थाहा पाउन मद्दत गरिरहेका छन्,’ कोइरालाले भने।
विभागले सातै प्रदेशमा स्थायी स्कुल सञ्चालन गर्ने तयारी गरेको छ। जस अनुसार केन्द्रको स्कुल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा, कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा, मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा, गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा, लुम्बिनीको नेपालगञ्ज, देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कुलको संरचना तयारी थालेको छ।
विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ।
प्रकाशित: २५ मंसिर २०८२ ०९:२४ बिहीबार





