नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाको अहिले नै विकल्प खोज्ने बेला नभएको दाबी गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकअघि पदाधिकारी, पूर्व पदाधिकारी हुँदै शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाएर गरिएको परार्मश बैठकमा पार्टी नेतृत्व र महाधिवेशनका विषयमा तीब्र मतभेद देखिएको हो ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सभापति देउवा नेतृत्वको कार्यसमितिलाई लिएर अघि बढ्न नसकिने जनाउँदै तत्काल महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि भदौ २४ गतेको ध्वशंलगतै नेतृत्व परिर्वतनको पक्षमा अभियान चलाउँदै आएका छन् । र, पार्टीको तत्काल महाधिवेशन हुने अवस्था नभए विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिर्वतनको पक्षमा देखिएका छन् । नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने अडानमा छन् ।
तर, सभापति देउवा निकट नेताहरू अहिले नै उनको विकल्प खोज्न नहुने तर्क गर्दै निर्वाचन र संसद् पुनःस्थापनाको विकल्पलाई खुला राख्दै अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् । विशेष महाधिवेशनले पार्टीको एकतालाई कमजोर बनाउने जनाउँदै निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त भन्ने प्रश्न गर्दै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उद्धृत गर्दै बैठकमा सहभागि एक नेताले भने,‘अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’
नेता शेखर कोइरालासहितका नेताहरूले भने पार्टी विधान अनुसार चार वर्षे कार्यकाल सकिन दुई महिनामात्र बाँकी रहेकाले छिटो र छोटो बाटोबाट नियमित महाधिवेशनको पक्षमा देखिएका छन् । तर, सभापति निकट नेताहरूले क्रियाशिल सदस्यताको काम अघि नबढेको भन्दै दुई महिनाभित्र महाधिवेशन सम्भव नभएको जिकिर गर्दै आएका छन् । महामन्त्री थापा संयोजकत्वमा रहेको क्रियाशिल समितिले सदस्यताको काम नगरेको आरोप पनि लगाएका छन् । संसद् पुनस्र्थापनाको पक्षमा उभिदै आएका सिटौला शुक्रबार निर्वाचनका विषयमा पनि केही लचिलो सुनिएको स्रोतको दाबी छ ।तर, उनले फागुन २१गतेका लागि तोकिएको निर्वाचन सहज नभएको जिकिर गरेका थिए ।
नेता ज्ञानेन्द्र बहादुर कार्कीले सभापति देउवा र तत्कालिन परराष्ट्रमन्त्री आरजु राणा देउवा माथि भदौ २४ गते आक्रमण लोकतन्त्र र कांग्रेस माथिकै आक्रमण भएको जिकिर गरेका थिए । २०४८को आम निर्वाचनमा सुदूरपश्चिमका १८ मध्य १७ निर्वाचन क्षेत्रमा देउवाले पार्टी उम्मेदवारलाई चुनाव जिताएको बताउँदै लोकतान्त्रिक आन्दोलन र कांग्रेसको संगठनमा जीवन बिताएका सभापतिमाथि आक्रमण हुँदा पार्टीका जिम्मेवार पदाधिकारीहरू गएरजिम्मेवार ढंगबाट प्रस्तुत भएको आरोप लगाएका थिए । पार्टी महामन्त्री थापा र शर्माप्रति लक्षित गर्दै कार्कीले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बेलामा विभाजन र विखण्डनलाई प्रशय दिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा विघटन भएर निर्वाचनको मिति घोषणा भइसकेको जनाउँदै कार्कीले त्यसको तयारीमा लाग्नुपर्ने तर्क गर्दै संसद् पुनःस्थापनको ढोकालाई पनि बन्द गर्न नहुने तर्क गरेका थिए । निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने उनको धारणा थियो ।
बैठकमा पार्टी प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनमा जानेकुरा नर्कान नसकिने धारणा राखेका थिए । तर, अहिले निष्पक्ष रुपमा निर्वाचन हुनेमा गम्भीरआशंका व्यक्त गरेका थिए ।र, संसद् पुनःस्थापनाको बाटो पनि खुला राख्नुपर्ने जनाउँदै सभापति देउवाको विकल्पको विपक्षमा उभिएका छन् । देउवाले आगामी महाधिवेशन नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसकेको र विधानले पनि पुनः उम्मेदवार हुन नपाउने जनाउँदै नियमित महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गरेका थिए । निर्णयाधिकारीहरू नै पार्टीलाई कमजोर बनाउन विभिन्न अभियानमा जुटेको उनले आरोप लगाएका थिए ।
तत्काल महाधिवशेनको सम्भावना नरहेको बताउँदै नेता बलबहादुर केसीले नियमित महाधिवशेन गर्नका लागि समय अभाव रहेको तर्क गरे । केन्द्रीय सदस्य उमा रेग्मीले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेकी थिएन् ।
बैठकमा पूर्व महामन्त्री शशांक कोइरालासहित नेताहरूले पार्टीभित्रको बृहत एकता आवश्यक रहेको औल्याएका छन् । सभापति देउवाले अहिले कार्यवाहक सभापतिको जिम्मेवारी दिएर पार्टीलाई अघि बढाउनु पर्ने तर्क गरेका छन् । पूर्व महामन्त्री शशांकले सभापति देउवासँगको भेटमा विधानको व्यवस्था र अवस्था अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिन सुझाएको धारणा राखेका थिए । आइतबार देखि सुरु हुने केन्द्रीय समितिको बैठकको अजेन्डा तय गर्नका लागि बिहीबार देखि सुरु भएको परामर्श बैठकमा नेताहरूले बोल्ने क्रम अझै जारी छ । सभापति देउवाले सहमतिमा अजेन्डा तय गर्दै एकतावद्ध भएर अघि बढ्न उपसभापति पूर्णबहादुर खड्कामार्फत नेताहरूलाई सन्देश पठाएका थिए । सोही अनुसार खड्काको अध्यक्षतामा बैठक बसिरहेको छ ।तर, कांग्रेस नेताहरू साझा समझदारीमा पुग्न सकेका छैनन् ।
प्रकाशित: २४ आश्विन २०८२ २०:५० शुक्रबार





