नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन पार्टीभित्र प्रवेश गरेका गलत तत्त्वहरूलाई पहिचान गरी निकालेर फाल्नुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न कम्युनिष्ट घटकहरूको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिष्ट पार्टी फुट्नुको मुख्य कारण पार्टीभित्र बाहिरी तत्त्वहरू प्रवेश गर्नु रहेको बताए।
सम्बोधनका क्रममा केही ढिलो गरी कार्यक्रममा उपस्थित भएका खनालले आफू केही रिजर्भेसनका बाबजुद एकताको संकल्पलाई बल पुर्याउन आएको स्पष्ट पारे।
उनले भने- ‘हामी कहिल्यै पनि अनेकताको पक्षमा छैनौँ। हामी नेपालको कम्युनिष्ट आन्दोलनलाई जहिले पनि एकताबद्ध बनाउन चाहन्छौँ। तर कम्युनिष्ट पार्टीभित्र केही-केही कुराहरू पसे। त्यो पसेका कुराहरूले हाम्रो पार्टी फुटेको छ, फुट्दै आएको छ। जे पसेको छ कमरेडहरु, अब त्यसलाई निकालेर फाल्नुपर्छ, नत्र त्यसले फेरि पार्टी फुटाउन सक्छ।’
आफू कार्यक्रममा ढिलो आउनुको कारणबारे स्पष्ट पार्दै उनले भने, ‘म केही ढिलो आएँ। ढिलो आउनुका केही कारणहरू छन्, जुन मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। उहाँले ती कुराहरू मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसकारण म केही रिजर्भेसन भए पनि एकताको कुनै विकल्प छैन भन्ने ठानेर यहाँ आएको हुँ।’
नेता खनालले पछिल्लो समय देशको सिंहदरबार, सर्वोच्च अदालत, संसद र नेताहरूका घर जलाउने (राजनीतिक रूपमा प्रहार गर्ने) प्रयास भए पनि नेपाली जनताको क्रान्तिकारी भावनालाई कसैले जलाउन नसक्ने बताए।
उनले भने, ‘तर नेपाली जनताको क्रान्तिकारी भावनालाई कुनै मूर्खले जलाउन सक्दैन। त्यो झन् झन् दन्किएर आगो बनेर निस्किनेछ र यो देशको प्रतिक्रियावादी शासनलाई समाप्त पार्नेछ।’
यसअघि खनाल एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता प्रक्रियाप्रति पूर्ण रूपमा सहमत देखिएका थिएनन्।
पार्टीको बहुमतले एकताको निर्णय गर्दा उनले फरक मत राखेका थिए। तर, हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनी उत्साहका साथ आजको एकीकरण घोषणा सभामा देखिएका हुन्।
प्रकाशित: १९ कार्तिक २०८२ १५:४९ बुधबार





