२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

युद्धप्रभावित मुलुकमा नेपालीको सुरक्षा र उद्धार सुनिश्चित होस् : राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले मध्यपूर्व क्षेत्रमा चर्किएको युद्धका कारण जोखिममा पर्न सक्ने नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै युद्धप्रभावित मुलुकमा रहेका नेपालीको अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेको हो। 

आयोगले इरानमा भएको इजरायल–अमेरिकी आक्रमणपछि मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्योलपूर्ण अवस्थाबाट त्यहाँ रहेका नेपाली नागरिकमा पर्न सक्ने प्रभावप्रति चिन्ता प्रकट गरेको छ। युद्धका कारण उत्पन्न असुविधा र जोखिमप्रति आयोगले गम्भीर ध्यान दिएको जनाएको छ। 

विज्ञप्तिमा राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै विश्वका जुनसुकै मुलुकमा रहेका आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्व भएको बताएको छ। साथै पछिल्लो अवस्थाबारे आवश्यक जानकारी लिने तथा जोखिममा रहेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तत्काल पहल गर्नुपर्ने आयोगको भनाइ छ।

आयोगले यस कार्यका लागि विदेशस्थित कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्न तथा सम्बन्धित देशहरूमा रहेका गैरआवासीय नेपाली संघ–संगठनसँग समन्वय र सहकार्य गर्न सरकारलाई सुझाव दिएको छ। 

युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षा र संरक्षणका लागि जोखिम मूल्याङ्कन गरी अतिप्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न आयोगले नेपाल सरकार र विदेशस्थित कूटनीतिक नियोगहरूलाई आग्रह गरेको छ।  

प्रकाशित: १७ फाल्गुन २०८२ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App