हिमाली जिल्ला मनाङकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार यशोदा गुरुङ अहिले काठमाडौंमा रहेका मतदाता भेट्नमा व्यस्त छिन्। जिल्लाका अधिकांश मतदाता चिसो छल्न जिल्लाबाहिर रहेकोले उनै मतदातालाई भेट्नका लागि उम्मेद्वार गुरुङ अहिले काठमाडौंमा बसेकी छिन्। चिसो छल्ने क्रममा मनाङका धेरैजसो मतदाता काठमाडौं, पोखरा, बेशीसहर लगायतका सहरमा झरेका छन।
कात्तिक लागेसँगै मौसमी बसाई सरेका जिल्लाका बासिन्दा सामान्यतया चैत लागेपछि मात्र गाउँ फर्किने गर्छन। मनाङमा जम्मा ७ हजार मतदाता छन। तर, योपटक फागुनमै चुनाव भएकोले निर्धारित समय भन्दा केही छिटो गरि मतदाता गाउँ फर्कनुपर्ने बाध्यतामा छन। जिल्लाका करिब ७० प्रतिशत मतदाता अहिले जिल्ला बाहिर रहेको दलहरुको अनुमान छ।
अस्थायी बसाई सरेका ती सबै मतदाता चुनावमा भोट खसाल्नकै लागि गाउँ फर्किन्छन नै भन्नेमा उम्मेदवार भने ढुक्क छैनन। ‘चुनावमा गाउँ फर्किनुस भने हामीले भेटघाटका क्रममा भनेका त छौ। मौसमले साथ दियो भने सबै मतदाता फर्केलान। नत्र त समस्या पर्न सक्छ। त्यसले चुनावी परिणाम नै असर पर्न सक्छ,’ उम्मेदवार गुरुङले भनिन, ‘अहिले काठमाडौंमै मतदाता भेट्ने क्रम चलिरहेको छ। मतदाा जहाँ छन, त्यही जान परिहाल्यो, जिल्लामा त कसैलाई भेट्नै सकिन्न।’ सहर झरेका मतदातामध्ये सबै फर्किन नसक्ने अवस्था उनले देखेकि छिन।
‘चुनावताका चिसो बढ्यो भने त सबै मतदाता फर्किन पनि सक्दैनन। वृद्धवृद्धा मतदाता मतदानबाटै बञ्चित पनि हुन सक्छन,’ उनले भनिन, ‘अझै समय बाँकी नै छ। तरपनि ७० प्रतिशत भन्दा बढी मतदाता त गाउँ फर्किन्नन। किनकी फागुनसम्म त चिसै हुन्छ।’
मनाङका सबै गाउँमा गाडी नपुगेकोले पनि मतदातालाई गाउँ फर्काउन समस्या रहेको उनले बताईन। ‘दोहोरो बसाई छ। तर, मतदाता नामावलीमा भने मनाङमै नाम छ। हामीले उनीहरुलाई मत हाल्नका लागि घर फर्किनुस भन्ने हो,’ उनले भनिन।
मनाङकै नार्पाभूमि गाउँपालिकामा अझैसम्म मोटर पुगेको छैन। अहिले पनि गाउँपालिका जान सदरमुकाम चामेबाट कम्तिमा २ दिन पैदल हिड्नुुपर्छ। गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार मतदातामा गाउँ फर्किन सक्ने वा नसक्ने भन्नेमा अन्योल रहेको छ। ‘अहिलेसम्मको अभ्यासमा हिमाली जिल्लामा फागुनमा चुनाव भएको अनुभव थिएन। यो पटकको चुनावताका अझै चिसो हटिसकेको हुँदैन। चुनावकै सेरोफेरोमा हिमपात भयो भने त झनै समस्या पर्छ,’ अध्यक्ष गुरुङले भने, ‘सबै मतदाता गाउँ फर्किन सक्दैनन । किनकी सबैभन्दा दुर्गम नार्पाभूमिका मतदाता केन्द्रसम्म आउजाउ गर्न सकिने अवस्था छैन।’
केहीगरि गाउँलेहरु घर फर्किन नसक्ने अवस्था सिर्जना भएमा सदरमुकाम चामेमै सबैका लागि मतदान गराउन सकिन्छ की भन्नेमा पनि छलफल चलिरहेको उनले बताए। ‘७० प्रतिशत जति मतदाता सहरमा छन। गाउँमा भएकालाई जसोतसो सदरमुकाम झार्ने र सहरमा रहेका मतदातालाई सदरमुकामसम्म उकाल्न सकिन्छ की भन्नेमा छलफल पनि भईरहेको छ। तर, त्यो पनि निश्चित भएको छैन,’ उनले भने।
उनका अनुसार निर्वाचनमा होमिएका उम्मेद्वारहरु अहिले पनि मतदाता भेट्न काठमाडौं, बेशीसहर, पोखरा, चितवन लगायतमा सहरमा छन। गाउँमा घर कुर्नका लागि सीमित मतदाता रहेको र अहिले हिमपातका कारण गाउँसम्म उक्लिन समेत समस्या भएकोले नेताहरु पनि सहरमा केन्द्रित रहेको उनले बताए।

अर्को हिमाली जिल्ला मुस्ताङका एमाले उम्मेद्वार इन्द्रधारा विष्ट पनि पोखरामै मतदाता भेट्नमा व्यस्त छन। मुस्ताङमा योपटकको निर्वाचनमा ११ हजार ३ सय २८ जना मतदाता रहेका छन। तीमध्ये झन्डै ६० प्रतिशत मतदाता पोखरा, काठमाडांै लगायतमा सहरमा रहेको विष्टको अनुमान छ। चिसो छल्न सहर झरेका मतदाता खोज्दै अहिले मुस्ताङका उम्मेदवार पोखरामै भेटघाटमा व्यस्त भएको एमाले उम्मेदवार विष्टले बताए।
‘चिसो छल्न सहर झरेकाहरु अहिले पनि सहरमै छन। गाउँ फर्किन थालेका त छैनन, तर, मौसमले अप्ठेरो पारेन भने मतदाताहरु गाउँ फर्किने अपेक्षा छ,’ उनले भने, ‘घर फर्किने बेलासम्म समय घर्किने हुँदा अहिले नै पोखरामा घेटघाट थालेको छु। अधिकांश मतादातालाई पोखरामै भेटिसके।’ पोखरा झरेका मतदाता पनि सबैजसो गाउँ फर्केर भोट नखसालेको खण्डमा त्यसको प्रभाव चुनावी परिणाममा पर्न सक्ने उनको पनि भनाई छ।
‘सबै मतदाता फर्केको खण्डमा मात्र निर्वाचनको परिणाम आँकलन हुन सक्ला। मतदाता नै फर्किन सकेनन भने त निर्वाचनको परिणाम पनि प्रभावित हुने त्रास हुन्छ। मतदातालाई मत खसाल्नका लागि घर फर्किनुस त भनेका छौ। तर मौसमले साथ दिनुपर्छ,’ उनले भने, ‘मुस्ताङका धेरैतिर गाडीको पहुँच पुगेको कारणले मतदाता फर्किन त थाल्नेछन। तर, मौसमले पनि साथ दिनुपर्नेछ।’
मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार हिमाली जिल्लामा भन्दा सहरमा मात्र चुनाव लागेको छ। गाउँमा मतदाता नभएकोले पनि चुनावी चहलपहल कम भएको उनले बताए। ‘मुस्ताङको माथिल्लो भेगबाट करिब ८० प्रतिशत मतदाता जाडो छल्न सहर झरेका छन। तर फर्किएका छैनन। चिसो सकिएर फागुन अन्तिमदेखि बल्ल घर फर्किने पुरानो चलन हो। तर, यो पटक चुनावले गर्दा केही छिटो फर्किन बाध्य त हुनेछन,’ उनले भने।
उनको अनुमानमा चिसोको मौसम पूर्ण रुपमा नसकिने भएकोले तल झरेकामध्ये पनि ६० प्रतिशत मतदाता मात्र घर फर्किने अनुमान छ। ‘जाडो छल्न तल झरेका वृद्धवृद्धा भने घर फर्किने सम्भावना रहन्न,’ उनले भने, ‘अहिले पनि गाउँमा केही युवापुस्ताका मान्छे मात्र घर कुरेर बसेका छन।’ चैत लागेपछि व्यावसायी, खेतीपाति गर्ने किसान, विद्यालय घर फर्किने गरेको भएपनि यो पटक चुनावका कारण छिटो गरि फर्किनुनपर्ने अवस्था रहेको उनले सुनाए।
‘चैत लागेपछि मात्र घर फर्किने पुरानो तालिका हो । तर पनि मौसमसले साथ दिनुपर्छ। पछिल्लो समय मुख्य सिजनमा भन्दा सिजनको अन्तिमतिर बल्ल हिमपात हुने गरेको छ। त्यसैले सबै मतदाता घर फर्किनेमा विश्वास गर्न सकिन्न,’ उनले भने, ‘मतदाता फर्किएनन भने त चुनावी परिणाम नै प्रभावित पनि हुन्छ।’ अहिले मुस्ताङको ३७ सय मिटर माथिका अधिकांश बस्तीका बासिन्दा चिसो छल्नका लागि पोखरा र काठमाडौंमा बसाई सरेका छन। त्यहाँका विद्यालय पनि घुम्ती विद्यालयको रुपमा पोखरामा झरेर अध्यापन गराउने गरिएको छ।
प्रकाशित: २५ माघ २०८२ १७:४८ आइतबार





