२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘अहिले कसैसँग समीकरण हुँदैन, २३ गतेको घटनामा ओली-देउवाले जिम्मेवारी लिनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल कसैसँग पनि सत्ता समीकरण वा चुनावी गठबन्धन नहुने स्पष्ट पारेका छन्।

बिहीबार पार्टी कार्यालयमा निर्वाचन परिचालन समितिको कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक दाहालले एमालेसँग समीकरण हुन लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका हुन्।

‘अहिले हाम्रो कसैसँग समीकरण सहमति हुने वाला छैन,’ दाहालले भने, ‘एमालेसँग मिल्यो भनेर अनौठो मान्न पर्दैन भन्ने चर्चा सुनेँ, अर्थ लगाउने एउटा सीमा हुन्छ, यस्तो अचाक्ली गर्न भएन। अहिले हाम्रो कसैसँग समीकरण हुँदैन।’

गत २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्ने दलका शीर्ष नेताहरूले लिनुपर्ने बताए।

उनले भने, ‘२३ गते जो नरसंहार भयो, त्यसको निम्ति तत्काल सरकारमा रहेका पार्टी र सरकारको नेतृत्व गर्ने एमाले अध्यक्ष केपी ओलीजी र कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिनुपर्छ। उहाँहरू जिम्मेवारी लिनबाट जो पन्छिनुभएको छ, त्यो गलत भएको छ।’

यद्यपि, २४ गते आगजनी र लुटपाटमा संलग्नहरूलाई भने कारबाही हुनुपर्नेमा उनले जोड दिए।

संयोजक दाहालले संविधान, शान्ति सम्झौता र गणतन्त्रको रक्षाका लागि भने हिजोका सहयात्री दलहरूसँग सहकार्य हुन सक्ने बताए।

२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता दलहरू संविधान र प्राप्त उपलब्धि खोसिने खतरा आएमा एक ठाउँमा उभिनुलाई स्वभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो।

‘अहिले तत्काल २३ गतेका सन्दर्भमा उनीहरू हाम्रा सहयात्री होइनन्, हामीले अहंकार र दम्भले दुर्घटना निम्तिन्छ भनेर खबरदारी गर्दागर्दै घटना भयो,’ दाहालले भने, ‘तर संविधान र परिवर्तनका एजेन्डा रक्षा गर्ने सवालमा आवश्यक परे सहकार्य हुन सक्छ। तर, यसलाई अहिले नै चुनावी तालमेलका रूपमा बुझ्नु गलत हुन्छ।’

प्रकाशित: १४ फाल्गुन २०८२ १७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App